web analytics

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

धनगढी /सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

आज त्यहाँका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको ‘गाभा’ अर्थात् भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।

यो पर्व विशेषमा ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गुड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ ।
डोटेली शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ। यस्तो सम्मानोपहार दिने “विशेष दिन” नै ओल्के संक्रान्तिका नामले सुदूर(पश्चिममा धुमधामसंग मनाइन्छ। यो पर्व सिंह संक्रान्ति अर्थात् भाद्र १ गते पर्दछ।

आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ। ठूलालाई सम्मान र सानालाई माया गर्नु हाम्रा पर्वहरूका त मुख्य विशेषता नै हुन्।

यो सबैखाले समाजमा पाइन्छ। त्यसैगरी उपहार लिने दिने प्रचलन पनि प्रायस् सबै समाजमा विद्यमान छ। तर हाम्रो ओल्कोलाई शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्रै सीमित गरिदिँदा समकालीन सामाजिक मनोभावको ठ्याक्कै अभिव्यक्ति नहुन सक्छ। ओल्को लिनु दिनु त्यहाँको संस्कृति, परम्परा र आस्थाको प्रतीक पनि हो।

सुदूरपश्चिमको लोकजीवनमा वर्षाको यामलाई अतीव विपत्तिको एकांकी समय मानिन्छ। बाढी पहिरोले गाउँहरूको आपसी सम्पर्कमा बाधा पुग्दछ। प्रकृतिको रुप-रंग फेरिन्छ। खोला-नाला सुसाएका हुन्छन्। हरियालीले पाखा पर्वत ढाकेको हुन्छ। कामको चटारोले कसैलाई फुर्सद हुँदैन। “साउनकी काली रात”का डरलाग्दा किस्साहरू गाउँगर्खामा सुन्न पाइन्छन्। निसन्देह यो परिवेशले कर्मयोगी लोकजीवनलाई भावविह्वल बनाएको होला। शायद यसै पृष्ठभूमिमा यो पर्वको सुरुवात भएको हुनु पर्दछ। आफन्तहरूलाई सम्मान स्वरुप उपहारसहित ढोग भेट गर्न जाँने चलेको रहेको छ। यो शास्वत भावमा ओल्कोको परम्परा अहिले अझ सान्दर्भिक हुन गएको छ।

यो पर्व विशेषमा ओल्कोको रूपमा फलफुल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ । शिल्पकर्मीहरुले आ-आफ्ना सिर्जनासमेत पठाउन सक्दछन्। अचेल लुगा-कपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने प्रचलन बढ्दो छ। यतिमात्रै होइन, गुठियारहरूले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउँछन्। विभिन्न जनजातिहरुमा कृषि युगदेखि नयाँ अन्नको न्वागि चढाउने चलन पनि देखिएको छ ।

यस्ता दिनमा मिठो मसिनो खानपिनको जोहो त हुने नै भयो । सुदूरपश्चिमको पहाडी दार्चुला जिल्लासंग सिमा जोडिएको छिमेकी देश भारतको कुमाऊँ गढवालतिर यस पर्वलाई घिउ तिहार भनिन्छ । यसदिन घिउ खानै पर्ने चलन छ । त्यहाँको लोकमान्यतामा ओल्के संक्रान्ति नमानेमा अर्को जुनीमा शंखेकिरो (गड्याल) भइन्छ भन्ने कथन छ । ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबैजना मिलेर रूखका हांगाविंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ”बुढी हालेको” भन्दछन् । यो बूढीलाई असोज संक्रान्तिका साँझ प्रत्येक घर-घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर बूढी पोल्ने पर्व मनाउने परम्परा छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै यो ‘बूढी पोल्ने’पर्व मनाइने गरिन्छ । घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ । घरबाट चिरेको काँक्रो लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ । यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोग-व्याधिबाट परिवारजन मुक्त हुने मान्यता छ । केही वर्ष अघिसम्म ठूलाबडालाई साना जात भनिएकाहरुले चिनो वस्तु चढाउने दिनका रूपमा समेत ओल्कोको व्याख्या गरिएको देखिन्छ । कथित ठूलाठालुहरूले ओल्को ल्याउनेलाई वक्सिस दिने चलन छ । यस्तो विभेदकारी रुपमा मनाउँदै आएको पर्वलाई अब नयाँ अर्थमा परिभाषित गर्नु पर्दछ ।

सामाजिक मान्यता

भनिन्छ, ओल्के संक्रान्तिताका सतरति (सातरातको झरि) पर्दछ । यो समयमा आकासमा तारा देखिएमा वा वन चर्न गएका भैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने संभावना रहन्छ। यसैताका ऋतुमति धर्तिले नवीन सिर्जना गर्न थाल्छिन् । प्रकृतिमा नयाँ-नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्राहरु देखिन थाल्छन् । धुलो धुँवा र फोहोर पखालिन्छ। पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्छन् । पृथ्वी पुन: शस्यश्यामला र कञ्चन बन्छिन् ।

सुदूरपश्चिममा के विश्वास छ भने यो बेला पहाडका खोलानाला समेत समुद्रलाई ओल्को पुर्याउँछन् । शुष्कप्राय: खोलानाला यति हौसिएका हुन्छन् कि महाकालीलाई समेत हल्लाउन भ्याउछन् । एउटा स्थानीय लोकगीतमा भनिएको छ- ‘काली गङ्ङा हचको दिनछै धन्न बुका खोला (अर्थात काली नदीलाई समेत हचको दिने बुको खोलालाइ धन्यबाद छ)।’ यसरी साउनको रात वा पुषको परभात वा जेठको दोफरी जस्तो अप्ठ्यारो समय सकिएपछि एउटा नयाँ समय आउँछ । हाम्रा पर्वहरू यस्तै समयमा नयाँ लय दिन्छन् ।

ओल्के संक्रान्ति पछि नै सुरु हुन्छ गौराको पावन पर्व । देवराग (अर्थात् डेउडा देउडा गित देउरा ) गायनको महान् अवसर । यस्ता अवसरहरूलाई समयानुकूल समावेशी बनाई लोक परम्परालाई जीवित राख्नु सबैको कर्तब्य हुन आउँछ । यसै सन्दर्भमा त्यहाँको एउटा लोकआख्यान पनि भनिहालौं । भनिन्छ, पहाडका ससाना खोलानालाबाट पनि ओल्को आउन थालेपछि मैदानका महानदीले यिनलाई निक्कै फुरुङ्ग्याउँछन् ।

कुरैकुरामा आफ्नी छोरीको विवाह यी फुर्तिला शैल-सरिताका छोरासंग गरिदिने वचन पनि दिन्छन् । तर बिहे भने हिउँदमा मात्र हुने निधो हुन्छ। विचरा सोझा पहाडी खोलाहरु रातदिन विवाहको जोरजाममा खटिन्छन्। विडम्बना, हिउँद आउँदा नआउँदै पानीको मूल शुष्क प्राय: हुन्छ र ठूला घरसंग साइनो जोड्ने यिनको मनसुवा कहिले पनि पुरा हुँदैन । यो प्रतीकात्मक उपकथामा वर्णित पहाडको प्रकृति र सुदूरपश्चिमको वर्तमान नियतिमा गजवको साम्यता छ।

यस पर्वलाई विभिन्न किसिमले मनाए पनि यसको मुल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु हो । आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउसोभरी रमाईलो गर्ने र बेलुका बुढीहाल्ने गर्दछन् । आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको बुढापाकाको भनाई छ । विजय उत्सवका रुपमा मनाइने बुढी हाल्ने र पोल्ने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.