तेस्रो विवाहको माग गर्दै युवक ३३ हजार केभीको बिजुली टावरमा चढे, प्रहरीद्वारा उद्धार
एजेन्सी / भारत
पत्नी र सन्तान हुँदाहुँदै तेस्रो विवाह गर्न पाउनुपर्ने माग गर्दै एक युवक ३३ हजार केभी क्षमताको बिजुली टावरमा चढेपछि घटनास्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।
युवकले टावरबाट हाम फाल्ने धम्की दिएपछि प्रहरी, दमकल र एम्बुलेन्ससहितको टोली घटनास्थलमा पुगेको थियो। स्थानीय बासिन्दाको भीडसमेत जम्मा हुँदा केही समय ठूलो हंगामा मच्चिएको थियो।
घटनास्थलमा युवककी पत्नी बच्चासहित पुगेकी थिइन्। प्रहरीको पहलमा युवककी सालीलाई समेत बोलाएर सम्झाइबुझाइ गरिएपछि युवक टावरबाट सुरक्षित रूपमा झरेका थिए। त्यसपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार युवक राज सक्सेना आफ्नो सालीप्रति अत्यधिक आकर्षित भएका थिए। पहिलो विवाहपछि केही दिनमै उनी दोस्रो नम्बरकी सालीप्रति आकर्षित भई यस्तै गतिविधि र धम्की दिएपछि दोस्रो विवाह गरेका थिए। त्यसपछि पहिलो पत्नीले घर छोडेकी थिइन्।
दुई वर्षपछि पुनः राज सक्सेनाको मन तेस्रो नम्बरकी सालीप्रति आकर्षित भएको र सोही माग राख्दै उनले फेरि बिजुली टावरमा चढेर हंगामा मच्चाएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
घटना भारतको भएको जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।



Comments are closed.