तमू ल्होसारमा सार्वजनिक विदा दिन माग
काठमाडौ/गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू संघद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तकृया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजनिक बिदा दिन माग गरेका हुन् ।
संघका जिल्लाअध्यक्ष लालप्रसाद गुरुङले राज्यले तमू ल्होसारलगायत जनजातिका पर्वको बिदा कटौती गरेर धर्म संस्कार र संस्कृतिप्रति वेवास्ता गरेको आरोप लगाए । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भडेलले पुर्खाले आर्जेको, भाषा धर्म, संस्कार र संस्कृति जोगाउनुपर्नेमा जोड दिए ।
भाषा धर्म संस्कृति हराए मानिस रहनुको कुनै अर्थ नरहने उनको भनाइ थियो । मन्त्री भडेलले तमू ल्होसारको अवसरमा सार्वजनिक विदाका लागि आफूले पहल गर्ने बताए । विसं २०६२/६३ को जनआन्दोलन सफल भएपछि नेपाल सरकारले तमू ल्होसारका दिन पुस १५ गते सार्वजनिक विदा दिँदै आएकामा केही वर्षयतादेखि सो बिदा कटौती गरिएकाले गुरुङ राष्ट्रिय परिषद् (तमू ह्यूल छोजधी) ले पनि यस विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउँदै आएको जनाइएको छ । रासस



Comments are closed.