लालझाडीमा गंगा दशहरा मेला जेठ २१ गतेदेखि सुरु हुने
कञ्चनपुर/ जेठ १४ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित दोदा नदीको किनारमा प्रत्येक वर्षझैं यस वर्ष पनि गंगा दशहरा मेला भव्य रुपमा आयोजना हुने भएको छ। गंगा दशहरा मेला–२०८२ आगामी जेठ २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने मेला संयोजक विनोद चौधरीले जानकारी दिएका छन्।
यो मेला राना थारु समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक उत्सव हो, जसमा कैलाली र कञ्चनपुरका हजारौं राना थारु तथा चौधरी समुदाय लगायत अन्य नागरिकहरु पनी सहभागी हुने गर्दछन्। मेलामा कालेश्वर महादेवको विशेष पूजा-अर्चना गरिन्छ भने नेपाल मात्र नभई भारतका विभिन्न स्थानबाट समेत श्रद्धालु भक्तजन तथा व्यापारीहरू आउने गर्दछन्।
मेलास्थल दोदा नदी किनारमा रहेको छ, जुन लालझाडी र बेलौरी नगरपालिका बीचको सिमानामा पर्छ। यो स्थानमा प्राचीनकालमा निर्मित इनार भेटिएको हुँदा यो क्षेत्रको इतिहास निकै पुरानो भएको अनुमान लगाउन सकिन्छ । तर यसको अन्वेषण हुन सकेको छैन ।
गंगा दशहरा मेलामा ठूलाठूला पिङ्ग, स्टेज कार्यक्रमहरू, राना थारु र चौधरी समुदायका परम्परागत नाचगान, साथै परिकारका स्टलहरू जस्ता विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएका छन्।
मेला संयोजक चौधरीले यस ऐतिहासिक तथा सांस्कृतिक मेलालाई सफल पार्न सबै सरोकारवाला, स्थानीय बासिन्दा, संघसंस्था तथा सुरक्षा निकायको सहयोग र सक्रिय सहभागिता आग्रह गरेका छन्।




Comments are closed.