पुनर्वासको कोटिहोम मन्दिरमा प्राणप्रतिष्ठा कार्यक्रम हुँदै
लाल बहादुर एस के
पुनर्वास फागुन ४
कञ्चनपुर, फागुन ४ – कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र कोटिहोम मन्दिरमा आज फागुन ५ गते एक विशेष धार्मिक कार्यक्रमको आयोजना गरिँदैछ।
भगवान शिव र उनको वाहन नन्दीको मूर्ति प्राणप्रतिष्ठा गरिने उक्त कार्यक्रममा स्थानीयवासी तथा श्रद्धालुभक्तजनहरूलाई उपस्थिति भई पूण्य लाभ लिन आयोजक समितिले हार्दिक अनुरोध गरेको छ।
शिव मूर्ति निर्माण उपभोक्ता समितिका संयोजक एवम् कार्यक्रमका सभापति यम प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न हुने छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा रहनुहुनेछ भने विशिष्ट अतिथिमा विभिन्न धार्मिक व्यक्तित्व, सामाजिक अगुवा, शिक्षाप्रेमी, समाजसेवी, मठ-मन्दिरका पूजारी तथा धर्म-पुरोहितहरूको उपस्थिति रहनेछ।
कार्यक्रम आज बिहान १० बजे कोटिहोम मन्दिर परिसरमा सुरु हुनेछ। यस प्राणप्रतिष्ठा समारोहमा सहभागी भई धर्मलाभ प्राप्त गर्न सम्पूर्ण श्रद्धालुभक्तजनमा आयोजक समितिले निमन्त्रणा गरेको छ ।
समितिका सचिव विश्वराज ढकालका अनुसार मूर्ति प्राणप्रतिष्ठा, पूजाअर्चना, हवन, प्रसाद वितरण लगायत विभिन्न धार्मिक कार्यहरू सम्पन्न गरिनेछ। भक्तजनलाई प्रसाद ग्रहण गर्दै पूण्यलाभ लिनसमेत आग्रह गरिएको छ।
समितिका पदाधिकारीहरूका अनुसार मन्दिरको ऐतिहासिक महत्वलाई थप मजबुत बनाउन र धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले मूर्ति प्राणप्रतिष्ठा कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गरिने योजना रहेको छ।



Comments are closed.