पुनर्वासमा बागेश्वरी माविको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

लालबहादुर एस.के.
पुनर्वास,फागुन १
पुनर्वास नगरपालिका–८ स्थित बागेश्वरी माध्यमिक विद्यालयले आफ्नो ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्यताका साथ सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राना श्रवणको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमलाई शुभकामना दिँदै नगरप्रमुख शर्माले विद्यालयको उत्तरोत्तर प्रगतिका लागि आफ्नो व्यक्तिगत तथा नगरपालिकाको तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउनुभयो। शिक्षण पेशाबाट आफ्नो यात्रा प्रारम्भ गरेका शर्माले विद्यालय परिवारलाई प्रमुख अतिथिको रुपमा सम्मान प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै सामुदायिक विद्यालयहरूको शिक्षामा सुधारका लागि स्थानीय सरकार सदैव तत्पर रहने बताउनुभयो।
त्यस्तै, विशिष्ट अतिथिको रुपमा पुनर्वास नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनराज थापा, विद्यालयका संस्थापक प्रधानाध्यापक पदमबहादुर थापा, पुनर्वास नगर कार्यपालिका सदस्य बलबहादुर बिक, विद्यालयका निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर बिष्ट, जनजागरण सामुदायिक वनका अध्यक्ष लोकबहादुर कार्की, पुनर्वास सहकारी संस्थाका अध्यक्ष शंकर केसी लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षक, शिक्षिका, पत्रकार तथा विद्यार्थी अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयले ५३औँ वार्षिकोत्सवको अवसरमा शैक्षिक तथा अन्य क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकलाई सम्मान गरेको छ।
कक्षा १२ की जमुना सिंह ठकुरी (शैक्षिक उत्कृष्टता)
२०८० सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने अंकिता सिंह ठकुरी
राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत एथलेटिक्सतर्फ उत्कृष्ट विद्यार्थी मंगला वयाडी
शिक्षिका उमा बिक (बालविकास शिक्षिका)
शिक्षक पदमा तामाङ
कर्मचारी मातृका मल्ल
विद्यालयका अभिभावक तेजराज जोशी
उक्त सम्मानित सबैलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ।
यस अवसरमा विद्यालयले पुनर्वास नगर प्रमुख तोय प्रसाद शर्मालाई मायाको चिनु प्रदान गरेको छ। त्यस्तैगरी, निवर्तमान नगर प्रमुख जीवनराज थापालाई र विद्यालयका संस्थापक प्रधानाध्यापक पदमबहादुर थापालाई पनि मायाको चिनु प्रदान गरी उनीहरूका योगदान र समर्पणलाई सम्मान गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक दिल्लीप्रसाद शर्माले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय शिक्षामा विद्यालयले हासिल गरेको सफलता र भावी योजनाहरूबारे जानकारी गराउनुभयो। शिक्षण सिकाइका साथै विद्यालय भौतिक संरचनाका केही समस्याहरू समाधानका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसमक्ष पहल गरिरहेको बताउँदै शर्माले विद्यालयको विकासमा सबैको निरन्तर साथ आवश्यक रहेको उल्लेख गर्नुभयो।
विद्यालयको आर्थिक प्रतिवेदन संयोजक राजु थापाले आर्थिक विवरण प्रस्तुत गर्दै विद्यालयको कुल आम्दानी ९६ लाख ९० हजार ५०० रहेको र खर्च ७८ लाख ४७ हजार ३०५ रहेको जानकारी गराउनुभयो। मौज्दात खातामा ९ लाख ६० हजार ९५२ तथा अक्षयकोषमा जम्मा ९लाख ९९हजार ८९० रहेको जानकारी दिनुभयो। चालु वर्षमा मात्र ब्याजबाट १ लाख १६ हजार आम्दानी भएको समेत जानकारी गराउनुभयो।
कार्यक्रमका अवसरमा विद्यार्थीहरूले देउडा, लोकसंस्कृति, नृत्य, नाटक लगायतका आकर्षक प्रस्तुति दिएका थिए।
स्वागत मन्तव्य शिक्षक गगनबहादुर साउथ र विद्यार्थी रोशनी सिंह ठकुरीले व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन शिक्षक नेत्रप्रसाद उपाध्यायले गर्नुभएको थियो।
विद्यालयका ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्यताका साथ सम्पन्न भएको विद्यालयले जनाएको छ।
Comments are closed.