छाउगोठमा सुतिरहेकी महिलाको सर्पदंशबाट मृत्यु, नगरपालिकाद्वारा छाउगोठ भत्काउन निर्देशन
कञ्चनपुर, असार २९ ।
कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईँ (आउजी) को सर्पदंशबाट मृत्यु भएको छ। महिनावारीको समयमा घरको आँगनमा बनाइएको छाउगोठमा सुतिरहेकी कमलालाई गएराति करिब १२ बजे सर्पले टोकेको थियो। परिवारले तत्कालै सेती प्रादेशिक अस्पताल, धनगढीमा पुर्याए पनि उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो।
कमलाका तीन साना बालबालिका छन् भने उनका श्रीमान् वैदेशिक रोजगारीका लागि भारतमा रहनुभएको छ। स्थानीयका अनुसार, पक्की घर भए पनि कमला महिनावारीको समयमा सधैं घर बाहिरको गोठमै बस्ने गर्थिन्। दुई महिना अघि मात्रै भारतबाट फर्किएकी कमलाको असुरक्षित व्यवस्थाका कारण ज्यान गएको स्थानीयवासीहरूले बताएका छन्।
घटनाप्रति महिला अधिकारकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्। उनीहरूले छाउपडी प्रथा जस्ता अमानवीय कुरीतिहरूको अन्त्यका लागि सम्बन्धित निकायलाई तत्काल कडा कदम चाल्न माग गरेका छन्। उनीहरूको भनाइमा महिलालाई यस्तो अवस्थामा बस्न बाध्य पार्नु दुःखद् मात्र नभई आपराधिक कार्य पनि हो।
नेपालको कानुन अनुसार, मुलुकी अपराध संहिता २०७४ को व्यवस्था अनुसार, रजस्वला वा सुत्केरी महिलालाई छाउगोठमा राखेमा तीन महिनासम्म कैद सजायको प्रावधान छ।
घटना सार्वजनिक भएपछि कृष्णपुर नगरपालिकाले पनि छाउपडी प्रथा अन्त्य गर्न सशक्त कदम चालेको छ। नगरपालिकाले सबै वडालाई १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिँदै, तोकिएको समयसीमा भित्र गोठ नहटाउनेहरूलाई १० हजार रुपैयाँ जरिवाना तथा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद गिरीद्वारा हस्ताक्षरित सूचनामा छाउगोठको विवरण संकलन गरी नगर कार्यालयमा पेश गर्न समेत भनिएको छ।




Comments are closed.