web analytics

११५ औं नारी दिवस: महिला अधिकारको वर्तमान अवस्था र चुनौतीहरू

 

हरेक वर्ष मार्च ८ तारिखमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस महिला अधिकार, समानता र न्यायको प्रतीक हो। नेपालमा महिला अधिकारको सवाल सुधारोन्मुख देखिए पनि, अझै धेरै चुनौतीहरू कायम छन्।
विकसित देश र अल्पविकसित देशहरूको तुलनामा नेपालमा महिला सशक्तिकरणको अवस्था मध्यमस्तरमा रहेको देखिन्छ। शिक्षा, स्वास्थ्य, रोजगारी तथा नेतृत्व तहमा महिलाको सहभागिता बढिरहेको छ। राज्यका नीति तथा कानुनी सुधारहरूले महिला अधिकारलाई संस्थागत गर्ने कोसिस गरिरहेका छन्। तर, यथार्थमा यी सुधारहरू सबै क्षेत्रमा समान रूपमा लागू हुन सकेका छैनन्।
नेपालको राजनीतिक इतिहास हेर्ने हो भने, महिला अधिकारको आन्दोलनले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेका छन्। जनयुद्ध र विभिन्न आन्दोलनको बलमा शासकीय संरचनामा महिलाको सहभागिता वृद्धि भएको छ। दस वर्षे जनयुद्धले नेपालमा लैंगिक समानताको बहसलाई नयाँ उचाइमा पुर्‍यायो। परम्परागत रूपमा पुरुषप्रधान भूमिकामा रहेका स्थानहरूमा महिलाहरू पनि अग्रसर भए। महिलाहरूले सैन्य तालिम, राजनीतिक प्रशिक्षण र नेतृत्व क्षमताको विकास गरे, जसले उनीहरूलाई समाजमा प्रभावशाली बनायो।
जातीय, वर्गीय, र लैंगिक विभेदको विरुद्ध लड्ने क्रममा महिलाहरूले प्रेम विवाह, अन्तर्जातीय विवाहमा स्वतन्त्र निर्णय गर्ने अवसर पाए।
संघीयता लागू भएसँगै संसद, प्रदेशसभा र स्थानीय तहमा अनिवार्य महिला सहभागिता सुनिश्चित गरिएको छ। यसका परिणामस्वरूप, हाल स्थानीय तहका जनप्रतिनिधिहरूमा महिलाहरूको उल्लेखनीय उपस्थिति देखिन्छ।
तर, महिलाहरूलाई अझै पनि नीति निर्माणको उच्च तहमा प्रभावकारी भूमिका खेल्ने अवसर कम देखिन्छ।
नेपालको संविधानले महिलालाई पैत्रिक सम्पत्ति हस्तान्तरणको अधिकार दिएको छ । तर व्यवहारमा अझै धेरै चुनौतीहरू छन्। पितृसत्तात्मक समाज, परम्परागत सामाजिक मूल्य मान्यता र झन्झटिलो कानुनी प्रक्रियाका कारण महिलाहरूले पैतृक सम्पत्तिमा दाबी गर्न सक्ने वातावरण अझै सहज छैन। कानुनी रूपमा महिलालाई हक दिए पनि सामाजिक संस्कारले नयाँ सोचलाई पूर्णरूपमा लागू गर्न दिएको छैन।
११५औं नारी दिवसको अवसरमा हामीले विगतका उपलब्धिहरूलाई स्वीकार गर्दै अझै बाँकी रहेका चुनौतीहरूमाथि गम्भीर छलफल गर्न आवश्यक छ। महिला सशक्तिकरणका लागि नीति तथा कानुनी सुधार मात्र होइन, सामाजिक सोचमा परिवर्तन ल्याउनु अत्यावश्यक छ। पुरुष र महिला दुवैको समान सहभागिता बिना वास्तविक समानता हासिल गर्न सकिन्न। त्यसैले, अबको यात्रामा हामीले न्याय, समानता, र स्वतन्त्रताको मार्ग अझ मजबुत बनाउन पहल गर्नुपर्छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.