भलमन्साहरुको गाउँपालिका स्तरीय एक दिने परामर्शीय भेला सम्पन्न।

कंचनपुर, २९ माघ
लाल बहादुर सार्कि
कञ्चनपुरको लालझडिमा भलमन्साहरुको गाउँपालिका स्तरीय एकदिने परामर्शिय भेला सम्पन्न भएको छ। नेपालको राष्ट्रिय बहाई समुदाय को आयोजना सम्पन्न भएको कार्यक्रममा समुदायमा सदभाव र एकता स्थापना गर्न भलमन्साहरुले अबलम्बन गर्ने परामर्श र संवादको प्रक्रियाको बारेमा विशेषरुपमा छलफल गरिएको थियो।
लालझाडि गाँउपालिका भरिका ६० भन्दा बढि भलमन्साहरुको उपस्थिति रहेको यस कार्यक्रमको अध्यक्षता नेपालका बहाईहरुको राष्ट्रिय आध्यात्मिक सभाका सदस्य देवराज रानाले गर्नु भएको थियो भने प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष निर्मल राना, विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, नेपाल राष्ट्रिय बहाई समुदायका महाद्वीपीय सल्लाहकार यम प्रसाद आचार्य, राष्ट्रिय आध्यात्मिक सभा सदस्य देवराज राना , गाउँपालिका स्तरीय भलमन्सा अध्यक्ष अतिराम चौधरी लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
परामर्शिय भेलामा गाँउपालिका भित्र क्रियाशील भलमन्साहरुले आफुले अहिले खेलिरहेको भूमिका र जिम्मेवारी, परामर्श र निर्णयमा पुग्ने प्रक्रिया, कानुनी प्रावधान र हाल बिद्यामान चुनौती जस्ता बिषयहरुमा आ-आफ्नो अनुभव र सिकाई साझा गरेका थिए।
नेपाल राष्ट्रिय बहाई समुदायका महाद्वीपीय सल्लाहकार यम प्रसाद आचार्यले समुदायको अगुवा नेताको रुपमा भलमन्साको भुमिका चौतर्फी रुपमा नै महत्त्वपूर्ण रहेको बताउदै परामर्श र संवादको माध्यम द्दारा मात्र यो भुमिकालाई माथी उठाउन सकिने धारणा राख्नु भयो। भलमन्साको भुमिका आदेश दिने नभएर परामर्श र संवाद गराउने भएकाले साँचो परामर्श मानवीय कल्याण र भलाईकोलागि शक्तिशाली साधन भएको कुरा पनि औल्याउनु भयो। परामर्श अवधारणा, प्रकृती, बिशेषता, र परामर्शका लागि अपनाउनु पर्ने सिद्धान्त र धारण गर्नुपर्ने गुणहरु, परामर्शको लागि चाहिने सक्रिय सुनाई जस्ता कुराहरुको बारेमा समेत आचार्यले दोहोरो रुपमा भलमन्साहरु सँग अन्तरक्रिया गर्नु भएको थियो। कार्यक्रम कै दौरान नेपालका विभिन्न प्रदेश तथा जिल्लाहरूमा भलमन्सा प्रणालीलाई राज्यले समेत सम्मान गर्दै यसलाई संस्थागत गर्नु ठुलो उपलब्धि भएको बताउदै, अब कानुनी व्यवस्थासँग आत्मसात भएर समुदायको सामाजिक संरचनालाई सुदृढ बनाउन भलमन्सा प्रणालीको योगदान र प्रभावकारिता अझ बढाउनुपर्नेमा जोड दिनुभयो।
गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भलमन्सा प्रथालाई संस्थागत र कानुनी मान्यता दिलाउन प्रयास भइरहेको उल्लेख गर्नुभयो। गाँउपालिकाले भलमन्सा विधेयक तयार गरीसकेको र आउने अधिबेशनमा पेश गरेर त्यसलाई पास गर्ने आस्वासन समेत दिनुभयो। कार्यक्रमका प्रमुख अथिति रानाले समुदायमा सद्भाव र एकता बनाई राख्न भलमन्साको भुमिका अत्यन्तै महत्त्वपूर्ण भएको जिकिर गर्दै गाँउपालिकाले भलमन्साको क्षमता अभिवृद्धि गर्न बजेट समेत बिनियोजन गरेकाले आगामी दिन विभिन्न कार्यक्रम गर्ने जानकारी गराउनु भयो।
भलमन्सालाई संस्थागत गर्न गाउँपालिका स्तरीय भलमन्सा समिति गठन गरि सबै भलमन्सालाई परिचय पत्रको ब्यबस्था गरिसकेकाले समाज निर्माणमा निर्धक्क भएर लाग्न समेत उँहाले अनुरोध गर्नु भयो।
पहिलो पटक गाँउपालिका स्तरीय भलमन्साहरुको भेला गराई परामर्श र संवाद प्रक्रियाको बारेमा कुरा गर्ने अवसर जुराई दिएकोमा उँहाले बहाई समुदायलाई धन्यवाद दिनुभयो। उँहाले भन्नु भयो ‘ बहाई समुदाय समाज निर्माण शक्तिको प्रस्फुटन गराउने अभियानमा लागेको छ। यसले समुदायका विभिन्न आयामहरु शिक्षा, स्वास्थ, न्याय, एकतालाई अझ मजबुत गराउन निस्वार्थ रुपमा गरिरहेको योगदान अत्यन्तै प्रशंसनीय छ।” साथै उँहाले आफ्नै गाँउपालिका भित्र बहाई समुदायले शैक्षिक भवन र मन्दिर बनाउन लागेको भन्दै खुशी पनि व्यक्त गर्नु भयो।
खुल्ला छलफलको रुपमा अगाडी बढेको कार्यक्रममा भलमन्साहरूले गाउँमा देखिने समस्या समाधान गर्न आफूहरूले गरेका प्रयासहरूबारे अनुभव साटासाट गरे। कतिपय ठाउँमा समस्या समाधान सहज रहेको तर कतिपय अवस्थामा चुनौतीहरूसमेत देखिएको अनुभव सुनाए।
विभिन्न सामाजिक मुद्दा समाधान गर्न, न्याय दिलाउन तथा समाजलाई अनुशासित बनाउन भलमन्साहरू संघसंस्था तथा कानुनी निकायसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउदै आउने दिनमा कानुनी प्रावधानबारे जानकारी दिने कार्यक्रम पनि राखिदिन भलमन्सा समितिका अध्यक्ष अतिराम चौधरीले बहाई समुदाय र गाँउपालिकासँग अनुरोध समेत गरे।
राष्ट्रिय आध्यात्मिक सभाका सदस्य सोमनाथ रानाले सहजिकरण गरेको कार्यक्रममा पहिलो पटक गाँउपालिका भवनमै अनुभव साझा गर्ने मंच पाएकोमा भलमन्साहरु अति नै उत्साहित देखिन्थे । यस कार्यक्रमले भलमन्साको कार्यशैलीमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
Comments are closed.