web analytics

ह्वाइट हाउसको पहिलो दिनमै बाइडेनले उल्टाए ट्रम्पका निर्णय, रोके मेक्सिकोको सीमा पर्खाल लगाउन

बुधबार सपथ ग्रहण गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका अधिकांश निर्णय उल्ट्याएका छन्।

ओभल अफिसमा कार्यभार सम्हाल्दै बाइडेनले १७ वटा एक्जुकेटिभ अर्डरमा हस्ताक्षर गरेका छन्। तीमध्ये अधिकांश ट्रम्पले गरेका निर्णयहरू उल्ट्याउने छन्।

ट्रम्पले यसअघि पेरिस क्लाइमेट सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए। विश्वव्यापी जलवायू परिवर्तनका विषयमा काम गर्ने उक्त सम्झौतामा अमेरिका फेरि जोडिने बाइडेनले निर्णय गरेका छन्। अबको ३० दिनमा अमेरिका सम्झौताको एक हस्ताक्षरकर्ता हुनेछ।

बाइडेनले केही मुस्लिम देशका आप्रवासीमाथि ट्रम्पले लगाएको प्रतिबन्ध पनि खारेज गरिदएका छन्। उनले ती मुलुकहरूमा रहेका अमेरिकी दूतावासका अधिकारीलाई अप्ठेरोमा परेका र सहयोगको खाँचो भएका मानिसहरूको भिसा प्रक्रिया अघि बढाउन भनेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने ट्रम्पको घोषणालाई पनि बाइडेनले उल्ट्याएका छन्।  बाइडेन डाक्टर एन्थोनी फाउचीलाई डब्लुएचओको एउटा सम्मेलनमा पठाउने निर्णय गरेका छन्।

राष्ट्रपति बाइडेनले अमेरिका र मेक्सिकोको सीमामा ट्रम्पले लगाउन थालेको पर्खालको काम पनि रोकिदिएका छन्। उनले पर्खाल बनाउन गइरहेको पैसा रोकेर त्यसको समीक्षा गर्ने बताएका छन्। ट्रम्पले ल्याटिन अमेरिका हुँदै आउने आप्रवासी रोक्न मेक्सिकोको सीमामा पर्खाल लगाउने चुनावी नारा दिएका थिए। राष्ट्रपति बनेपछि उनले  पर्खालका लागि अर्बौं डलर जुटाउन राष्ट्रिय आपतकाल घोषणा गरेका थिए।

जनगणनामा नागरिकता नभएका मानिसलाई सहभागी नगराउने ट्रम्प प्रशासनको योजना पनि बाइडेनले उल्टाएका छन्। अवैधानिक आप्रवासीलाई खोजी खोजी देश निकाला गर्ने ट्रम्पको निर्णय पनि उनले खारेज गरिदिएका छन्।
बाइडेनले देशभरि मास्क अनिवार्य रूपले लगाउनु पर्ने अर्डरमा पनि हस्ताक्षर गरेका छन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.