भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

काठमाडाैं/बैशाख २७
चार दिनसम्म चलेको भीषण युद्धपछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्धविराम गर्न सहमति जनाएका छन्। शनिबार साँझ ५ बजेदेखि लागू भएको यो सहमतिले दक्षिण एसियामा चुलिँदै गएको तनावलाई कम गर्ने अपेक्षा गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको पहिलो घोषणा गरेका थिए। उनका अनुसार अमेरिकाको पहलमा सुरु भएको वार्ता सफल हुँदै युद्धविराममा परिणत भएको हो। पाकिस्तानका विदेशमन्त्री इशाक डारले युद्धविराममा पाकिस्तानको सहमति औपचारिक रूपमा जनाउँदै जियो टिभीलाई भने, “३ दर्जनभन्दा बढी देश वार्ता प्रक्रियामा संलग्न थिए।” उनले टर्की, साउदी अरेबिया, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र बेलायतका विदेश सचिव डेभिड ल्यामीको विशेष योगदान रहेको उल्लेख गरे।
भारतका विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमार्फत “भूमि, आकाश र समुद्रमा सबै प्रकारका सैन्य कारबाही तत्काल रोकिने” घोषणा गरे। उनले युद्धविराम शनिबार साँझ ५ बजेदेखि नै लागू भएको स्पष्ट पारे।
सतर्कता कायम, जनजीवन सामान्यतर्फ
भारतीय रक्षा मन्त्रालयले युद्धविरामलाई स्वीकार गर्दै पनि आवश्यक परे सुरक्षाका लागि तयारी अवस्थामा रहने बताएको छ। युद्धविरामपछि प्रभावित क्षेत्रमा जनजीवन बिस्तारै सामान्य हुँदै गएको छ। बजारहरू खुल्न थालेका छन् र ब्ल्याकआउट हटाइएको छ।
युद्धविरामको घोषणासँगै पाकिस्तानले आफ्नो हवाई क्षेत्र सबै उडानका लागि पुनः खोल्ने निर्णय गरेको छ, जसले क्षेत्रीय हवाई यातायात पुनः सहज बनाउने विश्वास गरिएको छ।
बीबीसीकी दक्षिण एसिया संवाददाता समिरा हुसैनका अनुसार भारत र पाकिस्तानबीच सोमबार वार्ता हुने तय भएको छ। पहलगाममा २६ पर्यटकको हत्या भएपछि भारत र पाकिस्तानबीच तनाव चुलिँदै युद्धको स्थितिमा पुगेको थियो। अहिले युद्धविरामपछि विश्वको ध्यान पुनः दक्षिण एसियातर्फ केन्द्रित भएको छ।
Comments are closed.