web analytics

नेपाल र नेपाली फिल्म प्रती नायक/ निर्माता नवल खड्काको चिन्ता

‘खरानी भित्रको झिल्को फुकेर आगो बाल्नुपर्छ’

‘खरानी भित्रको झिल्को फुकेर आगो बाल्नुपर्छ’
सम्भवत २०५२/०५३ तिर निर्माण, प्रर्दशन भएको चलचित्र ‘गुन्युचोली’ बाट नायकको रुपमा चलचित्र क्षेत्रमा देखिएका नवल खड्का अहिले त्यतिमामात्र सिमित छैनन् । उनले केही राष्ट्रवादी धारको चलचित्रमा काम गरेका छन् भने केही आफैले निर्माण गरेका छन् । तत्कालीन माओवादी जनयुध्दमा आधारित चलचित्र ‘आवाज’ होस वा भारतीय विस्तारवादले नेपाली भुमि पटक, पटक मिचेको र सिमानामा नेपाली जनताले भोग्नु परेको दुखः कष्ट प्रष्टसँग देखाउन, बुझाउन खोजिएको चलचित्र ‘दशगजा’ वा शहिद भीमदत्तको जीवनीमा आधारित चलचित्र ‘भिमदत्त’ निर्माण गरेर उहाँले आफ्नो परिचयलाई फराकिलो बनाएका हुन् । खोटाङको सिम्पानीमा जन्मिएका नायक तथा निर्माता नवल खड्का चलचित्र कलाकार संघको पुर्व अध्यक्ष हुन् । उनी अन्य थुप्रै सामाजिक संघ, संस्थामा आवध्द छन् । झण्डै तीन दशकदेखि नेपाली चलचित्रको क्षेत्रमा लागेर निरन्तर राष्ट्रवादी चलचित्र निर्माणमा जोड दिँदै आएका खड्काले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीः                                                                         

सिमानामा ‘काँडेतार’को कुरा कहाँ पुग्यो ?

सिमानामा काँडेतार अभियान निरन्तर अघि बढी रहेको छ । अहिले पनि सर्वाेच्च अदालतमा सिमानामा काँडेतार बार लगाउनु पर्यो भनी दिईएको रिट निवेदन उपर वहस पैरवी चलिरहेको छ । जहाँसम्म फिल्मको कुरा छ ‘काँडेतार’ हामीले गत वर्षकै श्रावण–भाद्र महिनामा पुरा गर्ने लक्ष्यका साथ अगाडि बढेका थियौं । यसै अनुसार शुटिङ्ग पूर्व तयारी गर्नुपर्ने करीव ९० प्रतिशत काम भइसकेका थिए । तर, गत बर्षको पुष नलाग्दै कोरोना विश्वव्यापी महामारी शुरु भयो । तथापी चैत्रमा शुटिङ्ग गर्ने तयारीमा थियौं लकडाउन भयो । महामारी कम भएपछि चलचित्र उद्योगमा केही आशा जाग्दै थिए । यसबेला यस बर्षको बैशाखमा शुरूवात गर्ने योजना गर्दै थियौं । तर, पुनः कोरोनाको दोस्रो लहरले हामीले हाललाई रोक्यौं । यस महिनामा गर्न नसकेपछि आउट सुटिङ्ग वर्षादमा गर्न सकिने कुरा भएन । अब समयले साथ दिएमा भदौबाट शुटिङ्ग गर्न सकिएला कि ?                                                   

गहन विषयमा ‘भिमदत्त’ बनाउनु भो ब्यवसायसँगै दर्शक प्रतिक्रिया कस्तो पाउनु भो ?

यसअघि बनाएका चलचित्र मायाँबसेछ, आवाज, दशगजा जसरी ब्यवसायिक रूपमा सफल भए तर भिमदत्त फिल्म व्यावसायिक रूपले त्यति सफल हुन सकेन । तर, दर्शक र क्रिटिकसहरूबाट अत्यन्तै यथार्थपरक, सत्यतथ्य इतिहास र ऐतिहासिक ब्यक्ति माथि पूर्णरूपमा न्याय गरेको भनेर, सकारात्मक, उत्साहजनक प्रतिकृया पायौं । सबैभन्दा ठुलो कुरा भिमदत्त जस्तो महान ब्यक्तिलाई उहाँको मृत्यु भएको ६२ बर्षपछि जनतालाई चिनायौं र सरकारबाट शहिद घोषणा गर्नमा सहयोग पुग्यो । यो हाम्रो टिम र फिल्मको ठुलो उपलब्धि हो । यसका अतिरिक्त यो फिल्म तत्काल हङ्गामा मच्चाउने भन्दा पनि भावी दिनका लागि एक ऐतिहासिक फिल्मका रुपमा स्वीकारिने कुरामा हामी विश्वस्त छौं ।                                                             

पछिल्लो समय नेपाली चलचित्रका निर्माता, निर्देशक भन्दा दर्शक परिपक्व भएका छन् जस्तो लाग्दैन ?

निश्चय नै दर्शकहरु परिपक्व भएका छन् । हाल हरेकका हातमा सिनेमा हलहरु छन् र आफ्ना स्वाद अनुसार फिल्म हेर्ने अवसर पनि छ । संचारले दर्शकहरुको चाख र स्वादहरुलाई परिवर्तन गर्दै लगेको देखिन्छ । यसबारे हामी चलचित्रका निर्माता, निर्देशक र कलाकार समेत गहनरुपले हेर्दैछौं, बुझ्दैछौं । सकेसम्म हामी दर्शकका चाख र स्वादलाई पस्कन खोज्दैछौं । दर्शकको परिपक्वताले हामीमा कथाको विषयवस्तु, छायाङ्कनमा निपुर्णता र आधुनिकताबारे खोज्न, बुझ्न र प्रयोग गर्न जर्बदस्ति गरिरहेको छ । जुन फिल्मी जगतका लागि फाइदाजनक छ ।

‘गून्यूचोलि’ देखि ‘भिमदत्त’सम्मको सिने यात्राका दौरान जीवनमा केही हासिल गरेजस्तो लाग्छ ?

खासै भिन्नता म पाउँदिन । फिल्मी दर्शकहरु र समाजका विभिन्न क्षेत्रबीच एक चलचित्रकर्मीको रुपमा परिचित भइयो कि जस्तो लाग्छ । आफूलाई कुनै अपरिचित समूह तथा व्यक्तिका सामु आफू फिल्महरुको नायक र निर्माता भनेर चिनाउन सकिएको छ । अहिले चैं कैयन औपचारिक समारोहमा मेरा नामका अगाडि राष्ट्रवादि, देशभक्त जस्ता उपमा थपेर सम्बोधन गरि बोलाईन्छ । सायद यही होला जीवनमा मैले हासिल गरेको ।

समाजलाई अग्रगति दिने र विकसित बनाउने तरिकाले विषयवस्तु उठान गरेको चलचित्रमा लगानी गर्न निर्माताहरु आकर्षित हुँदैनन् भन्छन् नि ?                                 

हो, यो सत्य कुरा हो । निर्माताहरुमात्र होइन कि यस्ता फिल्महरुमा प्रचलित कलाकारहरू पनि अभिनय गर्न चाहदैनन् । ‘मार्केट डाउन’ हुन्छ भनेर । अनि भन्नुस् यस्तो सोच भएसम्म कसरी फिल्म निर्माण गर्ने ? यो मुलुकमा फिल्म क्षेत्रमा नयाँपन कसरी आउँछ ? यसबारे राज्यले चासो दिन्न बरू उल्टै सेन्सरमा अनावश्यक झमेला दिन्छ । बाहिरी मुलुकमा यस्ता फिल्ममा राज्यले सहुलियत दिन्छ । बजारको ब्यवस्थापन गरिदिन्छ र कलाकारहरूले पनि यस्ता फिल्ममा खेल्न तँछाड–मछाड गर्छन् । उस्तै परे पारिश्रमिक पनि कम लिन्छन् । तर, नेपालमा राष्ट्रवादी फिल्मका लागि थोरै देशभक्त निर्माताले मात्रै जोखिम मोल्न तयार भएका छन् ।

कोरोना कहरपछि सिने क्षेत्रसँग आवद्ध कलाकार, प्राबिधिकहरुले भोग्नु परेको समस्या र मुलुकको आर्थिक सङ्कटलाई कसरी लिनु भएको छ ?

कोरोना कहरपछि सिङ्गो चलचित्र क्षेत्र र कर्मीहरुले ठुलो आर्थिक र मानसिक रूपले दुःख, पीडा भोग्दै आएका छन् । यस्तो पीडा संसारलाई परेको छ । तर, मेरो राष्ट्रवादी दृष्टिले के देखेको छ भने हामी बढी मारमा पर्नुको कारण खुला सीमाका कारण हो । स्मरण गरौं त कोरोनाको उद्भव हामीसँगै टासिएको चीनबाट भएको हो तर त्यससँगको सीमा खुला र व्यवस्थित नभएका कारण त्यहाँबाट महामारी पस्न सकेन । तर, भारतसँगको खुला र अव्यवस्थित सीमाका कारण महामारीले व्यापक प्रवेश गर्यो । यदि हामीले उठाइरहेको आवाज झै नेपाल र भारतबीच सिमानामा काँडेतार बार लगाउनु पाएको भए ह्यारह्रर्ति महामारी भित्रिने थिएन । बर्षौंदेखि हामीले खुला सिमानालाई व्यवस्थित गर्न र यहाँको माटो र मान्छेलाई बचाउन सिमानामा काँडेतार लगाउनु पर्छ भन्दै आएका हौं, कसैले चासो दिन्नन् के गर्ने ? अझै ढिलाइ नगर्न भन्दैछौं । यसो गर्न सकेमा जनधनको सुरक्षा गर्न सकिन्छ । यदि हामीले सिमानालाई काँडेतार लगाएर आवतजावतलाई नियमितमात्रै गरिदिएको भए ‘विश्वमहामारी’ यहाँ कावुमा राख्न सकिन्थ्यो । जसको परिणाम सिने क्षेत्रसँग आबध्द कलाकार, प्राबिधिकहरुले भोग्नु परेको समस्यामा कमी आउँथ्यो। । यो कुरा कोरोना महामारी अवधिका लागिमात्र होइन, अन्य अवस्थामा देखिइरहिएको हो । खुला र अव्यवस्थित सीमा कारण त्यसमाथि भारतीय चलचित्रलाई निर्बाध प्रवेश दिने सरकारको नीतिले नेपाली फिल्मी क्षेत्र र बजार संकटमा परिरहेको नै छ ।                                                                               

नेपाली चलचित्र निर्माणमा कम हुदै जानुले भविष्यमा पाकिस्तानको जस्तो हविगत हुने लक्षण हो, के लाग्छ तपाईलाई ?

सम्भावनालाई नकार्न सकिन्न । राज्यले बिदेशी चलचित्रलाई रातो कार्पेट ओच्छाएर स्वागत गरेको परिणामले त्यस्तो स्थिति पुग्न लाग्दै थियौं । अब त पुगियो जस्तो लाग्छ । झन कोरोना कहरले कुन स्थितिमा पुर्याउने हो ? सम्झदै काहाली लाग्छ । तर? पनि हिम्मत हार्नु हुदैन, अब हामीले खरानी भित्र भएको झिल्को फुकेर आगो बाल्नु पर्छ ।

नेपाली सिनेमाको दर्शक घटे भन्छौ, हिन्दी सिनेमा हेर्न बाध्य गराउछौं यसको अन्त्य गर्न के गर्नुपर्ला ?

यो नीजि क्षेत्रबाटमात्र सम्भव छैन । नीजि क्षेत्रले गुणस्तरीय फिल्म निर्माण र प्रस्तुत गर्नु पर्‍यो र सरकारले बिदेशी फिल्मलाई निर्वाध प्रवेश गर्न नहुने नीतिलाई कडाइ गर्नु पर्‍यो । जस्तो कि विदेशी फिल्म चलाएर उठेको राजस्वले स्वदेशी चलचित्रको विकास गर्ने नीतिलाई परिवर्तन गर्नु पर्‍यो ।                                                                                               

उद्योगको रुपमा लिइसकेपछि अब सिनेमा बनाउँन बैंकबाट ऋण पाईन्छ त के छ प्रक्रिया ?

हामीलाई राज्यले हेर्ने दृष्टिकोणमा नै खोट छ । खै मलाई विश्वास छैन । कागजमा जे लेखिएको भए पनि ब्यबहारमा लागु हुन्छ भन्नेमा ।

अन्त्यमा चलचित्र उद्योगको उत्थानका लागि सिनेकर्मीले निभाउनु पर्ने भूमिका र राज्यले गर्नु पर्ने दायित्व के हुनु पर्छ ?

राज्यले के बुझ्नुपर्छ भन्ने चलचित्रमा कथामात्रै हुदैन त्यस्मा गीत, संगीत, द्वन्द्व, कला, अभिनय, भाषा, संस्कृति, परम्परा, रितिरिवाज, भेषभुषा, देशको सामाजिक अवस्था, प्रविधि आदि समुच्चय र यसमा सम्मिलित कर्मीहरुको प्रयासको परिणाम नै चलचित्र हो । यी क्षेत्रहरु र कर्मीहरुको निपूर्णताले नै फिल्मले विकासको उचाइ लिन्छ र विश्व बजारमा प्रतिस्पर्धाका लागि उत्रन्छ । यो क्षेत्र २१ औं सताव्दीको सामाजिक पहिचान र स्थानको संचार गर्ने सहज र उपयुक्त माध्यम हो । तर, नेपाल सरकार र राज्यले यो कुरा बुझ्न चाहेको देखिदैन । अरु देशका राज्यले यस क्षेत्रलाई सहजीकरण र उत्प्रेरणा दिएकै कारण हलिउड, बलिउडका आफ्ना चलचित्रका माध्यमबाट विश्व बजार, संसारलाई हेजेमोनि गर्न सफल भएका हुन् । यस कुरालाई सरकारले मनन् गर्नु पर्‍यो । यसका साथै चलचित्रकर्मीले ईमान्दारीपूर्वक र आफ्ना कम्पिटेसन वा भनौ दक्षता बढाउने काम गर्नु पर्‍यो । यो क्षेत्र नै मेरो जीवन, भविष्य हो भनेर यसमानै लाग्नु पर्‍यो

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.