web analytics

बैतडी जिप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

 

बैतडी/बैतडीमा सोमबार साँझ भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको संख्या पाँच पुगेको हो।
जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफारीस गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। यसअघि दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
पाटन नगरपालिका–१ सकारकै १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको घटनास्थलमै मृत्यु भएको हो।
यसैबीच दुर्घटना परी अन्य पाँच जना घाइते रहेका छन्। घाइतेमध्ये पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईको अवस्था गम्भीर रहेको छ। यी दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा सिफारिस गरिएको छ। अन्य घाइते पाटन नगरपालिका–१ सकारकै दीपक भट्टराई, विष्णु भट्टराई र गोविन्द वि.क.को पाटन प्राथमिक उपचार केन्द्रमै उपचार भइरहेको छ।
जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से१ज ८८८ नंको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटनामा परेको हो। जीपमा चालकसहित ११ जना सवार रहेका बताइएको छ। चालक पाटन–५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन्। दुर्घटनाग्रस्त जीप सडकबाट १०० मिटर तल खसेको छ। कच्ची, चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। रासस

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.