ईलाका प्रहरी कार्यालय बाँसगढीको हिरासतबाट बलात्कार मुद्दाका थुनुवा फरार !
साउन १०
बर्दिया /ईलाका प्रहरी कार्यालय बाँसगढीको हिरासतबाट एकजना थुनुवा फरार भएका छन् ।
किशोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका थुुनुवा सोमबार बिहान प्रहरी कार्यालय परिसरबाट फरार भएका हुन् । प्रहरी स्रोतकाअनुसार बाँसगढी प्रहरीको कार्यालय परिसरबाटै भागेका थुनुवा बाँसगढीकी एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए ।
यसबारे प्रहरीले औपचारिक जानकारी दिन भने चाहेको छैन । बाँकेको खजुरा घर भएका थुनुवा अब्दुल खाँ सोमबार बिहान खाना खाने समयमा ११ बजे हिरासतबाटै फरार भएका हुन् । किशोरीका आफन्तले बाँसगढी प्रहरीमा जबरजस्ती करणीको मुद्दा दिएपछि केही दिनअघि मात्र बाँके प्रहरीको सहयोगमा उनीलाई खजुरामा पक्राउ गरेको थियो ।
‘पक्राउ परेका खाँलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको थियो’ एक प्रहरी अधिकारीले भने, ‘मंगलबार फेरि अदालत लैजाने तयारी थियो । सोमबार बिहान खान खाने समयमा कार्यालय परिसरबाट प्रहरीलाई झुक्याएर उनी फरार भए ।’
बाँसगढी नगरपालिका वडा नम्बर– ४ वडाध्यक्ष कृष्ण बास्तोलाले प्रहरीको लापरबाहीका कारण थुनुवा भागेको बताए । ‘हिरासतमा रहेका थुनुवा भाग्नुमा प्रहरीको एकदमै लापरबाही देखिन्छ’ उनले भने, ‘यसको जिम्मा समेत अब बाँसगढी प्रहरीले लिनुपर्छ ।’ आज बिहानसम्म फरार रहेका थुनुवालाई पक्राउ नगरे ईलाका प्रहरी कार्यालय बाँसगढी घेराउ गरिने स्थानीयहरुले बताएका छन् ।
थुनुवा फरार भएपछि उनको खोजीको लागि बर्दिया र बाँकेमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ‘बाँसगढीबाट थुनुवा फरार भएको सूचना आएपछि हामीले पनि प्रहरी परिचालन गरेका छौं’ बाँकेका एक प्रहरी अधिकारीले भने, ‘थुनुवाको घर बाँकेमा नै रहेकोले हामीले पनि बर्दिया प्रहरीलाई खोजीमा सहयोग गरिरहेका छौं ।’




Comments are closed.