बाजुराको मार्तडी तनावग्रस्त, बजारभरी सुरक्षाकर्मी
बाजुरा/ सहकर्मीको हत्या विरोधमा नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियुले बाजुरा सदरमुकाम मार्तडी बजार बन्द गराएको छ।
बजार बन्द गर्न लगाएर गल्लीहरुमा टायर बालेपछि यहाँको अवस्था तनावग्रस्त बनेको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बजार क्षेत्रमा गस्ती बाक्लो पारेको छ।
हिजो राति अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर अनेरास्ववियुले विरोध प्रदर्शन गरिरहेको छ।
त्रिबेणी गाउँपालिका–७ स्थित नाटेश्वरी आधारभुत विद्यालयमा मतदानको विवादलाई लिएर कांग्रेसका कार्यकर्ताहरुले राति घरमै गएर अयडीलाई कुटपिट गरेका थिए।
उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको थियो।
अस्पताल पु-याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
त्रिबेणी गाउँपालिका–७ मा हिजो दिउसो मतदानको समयमा कांग्रेस कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटनास्थलमै मृत्यु भएपछि विवादले चर्को रुप लिएको थियो। सुरक्षाकर्मीको गोली लागेर स्थानीय कांग्रेस कार्यकर्ता सञ्जिब अयडीको मृत्यु भएको थियो।
उनको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्ता माथि कुटपिट गरेका थिए।




Comments are closed.