कञ्चनपुरमा “बयानब्बेऔं तामाङ पहिचान दिवस” मनाईयो
कञ्चनपुर, भाद्र ७
कञ्चनपुरमा “बयानब्बेऔं तामाङ पहिचान दिवस” मनाईएको छ । पुनर्वास ११ को डोकेबजारस्थित बौद्ध थार्पालिङ्ग थेक्पा छेम्बो गुम्बामा हिजो विहिबार “तामाङ पहिचान दिवस” मनाईएको हो ।
नेपाल तामाङ घेदुङ सुदुरपश्चिम कार्यसमितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सभापतिका रुपमा नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेश कार्यसमिति अध्यक्ष बौद्ध लामा तामाङ हुनुहुन्थ्यो । त्यसैगरी प्रमुख अतिथिका रुपमा नेपाल तामाङ घेदुङ केन्द्रिय समिति सदस्य वीर बहादुर तामाङ हुनुहुन्थ्यो । र अतिथिको आसनमा
नेपाल तामाङ घेदुङ कञ्चनपुर अध्यक्ष भीम बहादुर स्याङ्दन, नेपाल तामाङ घेदुङ कैलाली अध्यक्ष गोपाल तामाङ,
नेपाल तामाङ घेदुङ पूर्व केन्द्रिय सदस्य मीन बहादुर तामाङ, नेपाल तामाङ घेदुङ पूर्व केन्द्रिय सदस्य भीम बहादुर तामाङ,
नेपाल तामाङ घेदुङ कञ्चनपुरका संस्थापक तथा पूर्व अध्यक्ष चित्र प्रसाद थिङ, नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेश पूर्वअध्यक्ष तथा अधिवक्ता नेत्र बहादुर तामाङ लगायतका व्यक्तित्वहरु हुनुहुन्थ्यो ।
कार्यक्रमको सुरुवात ने.ता.घे. सुदूरपश्चिम समितिका उपाध्यक्ष इन्द्रमाया तामाङको स्वागत मन्तव्यबाट सुरु भएको थियोे । उपाध्यक्ष इन्द्रमाया तामाङले आफ्नो अधिकारका लागि हरेक क्षेत्रबाट तामाङहरु उठनुपर्ने बताउनुहुँदै नेपाल तामाङ घेदुङले तामाङ पहिचान दिवसको बारेमा आधिकारिक धारणा नबनाएकोमा दुखेसो पोख्नु भएको थियोे ।
कार्यक्रममा ने.ता.घे. सुदूरपश्चिम समितिका उपाध्यक्ष भिमलाल मोक्तानले तामाङहरुले आफ्नो जातीय पहिचान र अधिकारका लागि राज्यसँग माग राखी अधिकार प्राप्त गरेको दिनको स्मरण गर्दै जातीय उत्थान र अधिकारका लागि लडन प्रेरित गर्ने दिनका रुपमा हरेक वर्ष भाद्र ६ गतेलाई मनाउनुपर्ने बताउनुभयो ।
ने.ता.घे. सुदूरपश्चिमका पूर्व अध्यक्ष तथा अधिवक्ता नेत्र बहादुर तामाङले आजभन्दा बयानब्बे वर्ष अघि राणाकालीन समयमा आफ्नो जातीय पहिचान र अधिकारको माग राख्ने
जंगवीर लामा तामाङको स्मरण गर्दै भाद्र ६ गते तामाङहरुका लागी ऐतिहासिक महत्त्वको दिन रहेको बताउनुभयो ।
सभापतिकोआसनबाट बोल्दै ने.ता.घे. सुदूरपश्चिम अध्यक्ष बौद्ध लामा तामाङले तामाङ जातिले आफ्नो अधिकारको लागि सधै जाग्नुपर्ने र राज्यलाई खबरदारी गर्नुपर्ने विचार राख्नुभयो ।
राणाकालमा तामाङ जातिलाई विभिन्न नामले सम्बोधन गरिन्थ्यो । ‘मूर्मि भोट्या’, ‘लामाभोटे’, ‘भोट्या’, ‘भोटिया’ ‘मुर्मी’, ‘इसाङ’ ‘मैं’ आदि विभिन्न हेपाहा प्रवृत्तिका शब्दावली प्रयोग गर्ने गर्दथे । यसका साथै तामाङहरुलाई बोलाउने र कागजी रुपमा अड्डाअदालत तिर प्रयोग हुने शब्द अर्थात् प्रशासनिक तवरमा लेख्दा ‘भोटे’ भनेर सम्बोधन गर्ने प्रचलन थियो ।
यस समस्याको निराकरणका लागि र आधिकारिक रुपमा तामाङ लेखाउने पहलका लागि एक जना भूतपूर्व सैनिक ब्रिटिश भारतीय सेनाका सरदार बहादुर सुवेदार मेजर जंगवीर तामाङ (सन् १८८९–१९४७) ले भूमिका खेलेका थिए। पुर्ख्यौली थलो संखुवासभाका मोक्तान थरका यी तामाङ आसाम राइफल्सका सैनिक थिए। २५ वर्षको उमेरमा पहिलो विश्वयुद्ध (सन् १९१४) लडेका जंगवीरले ओ.बी.आई.–डी.एम.एल.सी. नामको बहादुरी पदक समेत पाएका हुनाले आफ्नो समुदायमा उनको नाम ठूलो थियो। उनकै पहलमा तत्कालीन राणा प्रधानमन्त्री भीमशम्सेरको पालामा १९८९ साल भाद्र ६ एक ईस्तिहार जारी गरी तामाङ नामले सम्बोधन गर्नुपर्ने अनिवार्यता लागू भएको थियोे । त्यस इस्तिहारमा…”आगे नेपाल सरहदभर मुलुकका जंगी निजामती अड्डा गौँडा गोश्वारा भैभारदार रैतिदुनिया गैहके यथोचित उप्रान्त बाह्र तामाङ जातलाई लामाभोटे भन्ने चलन चलेकोमा अरु–अरु अनेक किसिमका जात थरकाहरु पनि लामाभोटे भनी बोलाइने र लेखिने हुनाले कुन भोटे के जात थरको हो केही छुटिने भएन हामी बाह्र तामाङलाई आफ्नो तामाङ जात भन्ने भनिने लेख्ने लेखाइने गराई बक्स्ये हुँदोहो भनी सो तामाङ जातका सरदार बहादुर जङ्वीर तामाङ ओ.वी.ई.डी.एम.एल.सी. अगुवा भै जाहेर गरेको कुरा मुनासीबै लेखिएको हुँदा सो कुरा मन्जुर गरी बक्सी यो इस्तिहार जारी गरी बक्सेको छ। अब उप्रान्त हाम्रा नेपाल सरहद गोरखा राज भरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउँने गर्नु जंगी निजामती सरकारी अड्डाखाना पल्टनका कागजमा र दुनियादारको व्यवहारमा पनि बाह्र तामाङ जातका भोटेको जात लेख्दा र सो जातका भोटेलाई बोलाउँदा लामाभोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नु इति सम्वत् १९८९ साल भाद्र ६ रोज १ शुभम्” भनी उल्लेख गरीएको थियो ।
त्यसै दिनदेखि नेपालको सरकारी कार्यालय र अन्यत्र पनि तामाङ शब्दको आधिकारिक प्रयोग हुन थालेको हो।
सोही ईस्तिहार जारी भएको ऐतिहासिक दिनलाई अर्थात् भाद्र ६ गतेलाई तामाङ समुदायहरुले प्रत्येक वर्ष ‘तामाङ पहिचान दिवस” को रुपमा मनाउने गरेका छन् ।
Comments are closed.