प्रचण्ड र माधवले गणतन्त्रमाथि हमला गर्न थाले-प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर्न थालेको बताएका छन्। गणतन्त्रको सर्वाेच्च संस्था राष्ट्रपतिमाथि दिनदिनै हमला गरेर दाहाल र नेपाल पक्षले गणतन्त्रमाथि नै हमला गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले आइतबार आफूनिकट अखिल नेपाल महिला संघको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै गणतन्त्रको सबै प्रणालीविरुद्ध व्यापक हमला हुन थालेको बताएका हुन्। ‘अहिले हाम्रो सबै प्रणालीविरुद्ध ब्यापक हमला भएको छ। दुई किसिमका हमला छन्। प्रचण्ड–माधव नेपाल गुटबाट राष्ट्रपतिमाथि हमला भएको छ। गणतन्त्र प्रणालीमा सर्वाेच्च संस्था राष्ट्रपति हो। राष्ट्रपतिमाथि अहिले हमला बढाइएको छ’, उनले भने, ‘राष्ट्रपतिले संविधानले व्यवस्था गरेअनुसार काम गर्ने र प्रधानमन्त्रीले सिफारिस गरेका काम गर्ने हो। त्यसमा कमजोरी भएको रहेछ भने राष्ट्रपतिको कमजोरी हुँदैन, प्रधानमनत्रीको कमजोरी हुन्छ। तर, राष्ट्रपतिमाथि प्रहार गरेर प्रणालीमाथि नै हमला गरिएको छ।’
उनले आफूले प्रतिनिधिसभा विघटन संविधान, राष्ट्र र गणतन्त्रकै हितमा रहेर गरेको बताए। त्यसका लागि आफू जुन कुनै हिसाबले पनि जवाफ दिन र बहस गर्न तयार रहेको उनको भनाइ थियो। ‘म जवाफ दिन तयार छु, बहस गर्न तयार छु, प्रधानमन्त्रीले गरेको काम राष्ट्रको हित, संविधानको पक्षमा छ’, उनले भने।
उनले राजतन्त्रका बेला दाम चढाउन जानेहरूले हमला गर्नुको अर्थ नहुने पनि बताए। ‘राजाका पालामा दाम चढाउन गएका यिनै होइनन्। पाउ दाममा राखेर वरिपरि घुमेर परिक्रमा गरेर दर्शन गरेको होइन, अनि गणतन्त्र हुँदा राष्ट्रपतिमाथिको हमला। यो गणतन्त्रमाथिकै हमला हो। न्यायमूर्तिमाथिको हमला पनि हो। अदालतमाथिको जनविश्वास कमजोर पार्ने षड्यन्त्र भइरहेको छ’, ओलीले भने।
उनले दाहाल–नेपाल समूह सर्वोच्च अदालत र निर्वाचन आयोगको हुर्मत लिने काममा लागेको समेत आरोप लगाए। ‘अदालतप्रति सम्मान छ। तर, हामीले भनेजसरी फैसला आएन भने सडकबाट संसद् पुनःस्थापना गर्छौं। यो भनेको न्यायालयमाथि हमला होइन ?’ उनले प्रश्न गरे।
न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भनेर न्यायालय कमजोर पार्ने प्रयास भएको उनको भनाइ थियो। उनले त्यस्ता पात्रहरूको नाम लिँदा पनि आफूलाई कुल्ला गर्नुपर्लाजस्तो लाग्ने गरेको बताए।
उनले ‘जनयुद्ध’ लडाकुले होइन दाहालले छाडेको बताए। सिक्लेसबाट सरकारी हेलिकप्टर चढेर काठमाडौं आएकै दिन दाहालले जनयुद्ध, जनयुद्ध लडेका लडाकु सबैलाई छाडेको आरोप उनले लगाए। ‘कार्यकर्ताले छाडेका होइनन्, जनयुद्ध, प्रचण्डले छाड्नुभएको हो। लडाकुले छाडेका होइनन्, प्रचण्डले छाड्नुभएको हो, जनयुद्ध। सिक्लेसबाट सरकारी हेलिकप्टरमा चढेर काठमाडौं आएको दिनदेखि कहिले लडाकु सम्झिनुभयो ? लडाकुका नाममा पैसा लिँदै गर्नुभयो, लडाकु कहाँ पुगे, जसको शरीरमा गोली छन्, छर्रा छन्, अंगभंग छन्, ती कहाँ छन्, ती कहिल्यै प्रचण्डले सम्झिनुभयो ? आफन्त सम्झिनुभयो, आफन्तका सात पुस्ता सम्झिनुभयो’, उनले भने, ‘कार्यकर्ताको दोष छैन।
लडाकु कार्यकर्ता देशका लागि लडे, जनताको सुखका लागि लड्ने भनेर लडाइयो। अहिले लडाकुको अवस्था के छ ? तर, हामी बहिर्गमित लडाकु सबैलाई यथोचित सम्मानको व्यवस्था गर्नेछौँ।’
Comments are closed.