विवादास्पद विधेयक ब्युँताउन लागेकोमा काँग्रेसको आपत्ति

काठमाडौं : सामाजिक सञ्जाल व्यवस्थापनको नाममा सरकारले ‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ ल्याएर अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न लागेको काँग्रेसले आरोप लगाएको छ। सोमवार बिहानै प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले युवा पुस्तालाई यसबारेमा सजग बन्नसमेत विशेष अपिल गरेका छन्।
संसदमा विचाराधीन सूचना प्रविधि विधेयकलाई नयाँ रुप दिएर ब्युँताउन खोजिएको काँग्रेसको आरोप छ। यसमा काँग्रेसले आपत्तिसमेत जनाएको छ। ‘अन्ततः सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ।
सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती नहुने उल्लेख गर्दै काँग्रेसले त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान रहेको जिकिर गरेको छ। नयाँ निर्देशिका ल्याउँदा छलफल विमर्शबिनै ल्याउन खोजिएकाले यसमा प्रश्न उब्जिएको प्रवक्ता शर्माले बताएका छन्। ‘थप ब्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ,’ शर्माले विज्ञप्तिमार्फत भनेका छन्। कामचलाउन सरकारले यस्तो काम गर्दै नपाइने उनले ठोकुवा गरेका छन्। ‘कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुँदैन, मिल्दैन र पाईदैन,’ विज्ञप्तिमा भनिएको छ।
काँग्रेसले यस विरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली काँग्रेस संजाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरुकताका लागि आह्वान समेत गरेको छ।
Comments are closed.