सुदूरमा ‘कन्ट्याक्ट ट्रेसिङ’ फितलो, संक्रमण दर बढ्यो

धनगढी ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथामका लागि संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ कार्य फितलो भइरहेको छ ।
भारतीय सीमानाका हुँदै फर्किइरहेका व्यक्तिको सम्पर्कमा आएकाको ‘कन्ट्याक्ट ट्रेसिङ’ प्रभावकारी हुन नसक्दा संक्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको अनुभव छ ।
कैलालीको गौरीफन्टा सीमा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी गणेश साउँदले सीमानाकाबाट भित्रिने नागरिकको कन्ट्याक्ट ट्रेसिङ फितलो हुँदा संक्रमण दर बढेकोे बताए । भारतबाट निर्वाध रूपमा नेपाली र भारतीय नागरिक सीमानाका हुँदै नेपाल प्रवेश गरिरहेका छन् । पछिल्लो हप्तामा प्रदेशमा नयाँ संक्रमित ३६८ जना पुगेका छन् ।
अघिल्लो हप्तामा १२३ संक्रमित फेला परेका थिए । शुक्रवार एकैदिनमा ९४ जना संक्रमित थपिएका थिए । संक्रमणको दर बढ्दै जाँदा प्रदेशमा जटिल अवस्थाका बिरामी पनि बढ्दै गएका छन् ।
स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांकका अनुसार सक्रिय संक्रमित बिरामी ५०९ पुगेका छन् । यीमध्ये ७७ अस्पतालका आइसोलेसनमा र बाँकी स्थानीय तहका तथा होम आइसोलेसनमा रहेका छन् । सघन उपचार कक्षमा १४ र भेन्टिलेटरमा ३ जना उपचाररत रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी भने संक्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको जानकारी दिए ।
‘सीमा नाकाबाट भित्रिनेको नाम ठेगानालगायत विवरण संकलन गरेर राख्ने गरेका छौं,’ उनले भने, ‘यसै आधारमा सम्बन्धित पालिकालाई भित्रिएकाको निरन्तर निगरानी गर्न भनिरहेका छौं ।’
ADVERTISEMENT

गौरीफन्टा सीमानाका हुँदै दैनिक कम्तीमा पनि ५०० व्यक्ति स्वदेश फर्किने गरेका छन् ।
भित्रिने सबैको एन्टिजेन परीक्षण शुरूका केही हप्तामा सीमानाका हुँदै भित्रिनेमा ज्वरो भए नभएको जाँच गरी शंकास्पद देखिने व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएकामा पछिल्ला दिनमा सबै व्यक्तिको एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।
यस्तो परीक्षणबाट नतिजा ‘पोजेटिभ’ देखिनेलाई धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा स्थापना गरिएको आइसोलेसनमा राख्ने गरिएको छ । होम आइसोलेसनमा बस्नुपर्ने अवस्थाका संक्रमितलाई भने स्वास्थ्य सतर्कतासम्बन्धी परामर्श दिइ होम आइसोलेसनमा पठाउने गरिएको छ ।
जोखिम भत्ता विना जोखिमको काम गर्दै स्वास्थ्यकर्मी
गौरीफन्टा सीमा नाकामा सञ्चालनमा रहेको ‘हेल्थ डेस्क’का कर्मचारी जोखिम भत्ता विना नै काम गरिरहेका छन् । ‘हामी जोखिम भत्ता विना नै जोखिमको काममा खटिनुपर्ने अवस्था छ,’ हेल्थ डेस्कका स्वास्थ्यकर्मी गणेश साउँदले भने, ‘काम गर्दा गर्दै संक्रमित हुनुभएका एक जना स्वास्थ्यकर्मी केही दिनको आइसोलेसनको बसाइँपछि नतिजा नेगेटिभ आउँदा पुनः काममा फर्किनुभएको छ ।’
नाकामा खटिएका १७ जना स्वास्थ्यकर्मीमध्ये धनगढी उपमहानगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाए पनि जिल्ला स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट खटिने स्वास्थ्यकर्मी भने गत वर्षदेखि नै जोखिम भत्ता नपाएको बताइएको छ ।
हेल्थ डेस्कमा खानेपानी, खाजा नास्ताको व्यवस्थापनमा समेत समस्या भइरहेको कर्मचारीको गुनासो छ । भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको संक्रमण र मृत्युदर बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशमा पनि कारोनाको संक्रमण दर पछिल्ला दिनमा उकालो लागेको छ । भारतबाट फर्किनेबाट नै समुदायमा संक्रमण बढी देखिएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लालाई कोरोना भाइरस संक्रमणको उच्च जोखिम जिल्लाका रूपमा लिइएको छ । rss
Comments are closed.