पुनर्वास नगरपालिकाले मानव बस्ती नजिकै निर्माण गर्यो ल्याण्डफिल साईट, प्लास्टिकजन्य फोहोर जलाउँदा जनस्वास्थ्यमा गम्भीर असर
ल्याण्डफिल साईट निर्जन क्षेत्रमा सार्न र पुनर्वासलाई प्लास्टिकमुक्त नगर बनाउन स्थानीयवासीको माग
कञ्चनपुर, २९ फाल्गुन ।
पुनर्वास नगरपालिकाले मानव बस्ती नजिकै ल्याण्डफिल साईट निर्माण गरेको छ । आईबिआरडी बजार नजिक पैसट्ठी बिघा क्षेत्रको बजारको छेवैमा खाल्डो खनेर फोहोर विसर्जन गरीरहेको छ । जसको कारण स्थानीय वासीले सास्ती खेप्नु परिरहेको छ । बजारबाट निस्कने फोहोर मानव बस्ती नजिकै विसर्जन गर्दा त्यसबाट निस्कने दुर्गन्ध र प्लास्टिकजन्य फोहोर जलाउँदा त्यसबाट निस्कने धुवाँको कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।
प्लास्टिक जलाउँदा वातावरणमा पोलिक्लोरेनेटेड बाइफिनाइल, डाइओक्सिन, फ्युरानस, मर्किउरी जस्ता हानिकारक ग्यास मिसिने र जसले वातावरणलाई दूषित बनाउनाका साथै यस्ता ग्याँसको सम्पर्कमा आउने व्यक्तिको फोक्सोमा गम्भीर समस्या निम्त्याउने र अझ कालो प्लास्टिक बाल्दा निस्कने कालो धुवाँले मानिसको मस्तिष्कमा असर पार्ने तथा प्रजनन क्षमता र रोग प्रतिरोधात्मक शक्ति घटाउने जस्ता समस्याहरु आउने भएकाले पुनर्वासलाई यथासिघ्र प्लास्टिकमुक्त नगर बनाउनुपर्ने पुनर्वास पोलिक्लिनिकका चिकित्सक डाक्टर धोखे रानाले बताउनुभयो ।
प्लास्टिकजन्य फोहोर जलाउँदा बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा निकै असर परिरहेकाले यसतर्फ नगरपालिकाले बेलैमा ध्यान दिनुपर्ने र ल्याण्डफिल साईट सकेसम्म निर्जन क्षेत्रमा बनाउनुपर्ने पुनर्वास पब्लिक स्कूलका सञ्चालक हेम बहादुर थापाले बताउनुभयो ।
ल्याण्डफिल साईट नजिकैका स्थानीयवासीहरु अहिले निकै समस्यामा परेका छ्न । विशेष गरि उत्तर दिशाबाट हावा चल्दा तिब्र दुर्गन्धका कारण ढोका झ्याल लगाएर बस्नु परेको र प्लास्टिक जलाएको हानिकारक धुवाँको गन्धले टाउको दुख्ने र ससाना केटाकेटीलाई श्वासप्रश्वासमा समस्या भईरहेको स्थानीयले बताएका छ्न । समयमै उचित तरिकाले फोहोर व्यवस्थापन नगरे र ल्याण्डफिल साईट निर्माण नगरे आन्दोलन गर्न बाध्य हुने उनीहरूले बताएका छन ।



Comments are closed.