वरिष्ठ नेता माधव नेपालले बादललाई सहयोग गर्ने

काठमाडौ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार रहेका बादलले मंगलबार अपराह्न वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमा भेटेर सहयोगका लागि आग्रह गरेका थिए । जवाफमा नेपालले पूर्ण सहयोग गर्ने वचन दिएको बादलको सचिवालयले जनाएको छ ।
‘भेटवार्ता पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनको विषयमा केन्द्रित थियो,’ भेटवार्तापछि गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले जारी गरेको प्रेसनोटमा भनिएको छ, ‘भेटमा नेता नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।’
राष्ट्रिय सभा उपनिर्वाचनमा बादल एमालेका तर्फबाट सूर्य चिह्नमा तथा कांग्रेस, माओवादी र जसपाको एउटा समूहको गठबन्धनबाट डा. खिमलाल भट्टराई कलम चिह्नबाट उम्मेदवार छन् । त्यस्तै, उपनिर्वाचनमा नेमकिपाले पनि उम्मेदवारी दिएको छ ।
Comments are closed.