भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको घटना: आवेगको परिणाम भएको प्रतिवेदन सार्वजनिक

जेठ २०
बाँके /बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको घटनाको छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।
पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्दै प्रजिअ गेलालले घटना सुनियोजित नभई आवेगको परिणाम भएको बताउनुभयो । सार्वजनिक गरिएको प्रतिबेदनमा घटना सुनियोजित नभई आफन्तको मृत्यु पश्चात् आवेगको कारण घटना घट्न गएको निष्कर्ष निकालिएको गेलालले जानकारी दिनुभयो ।
नर्सिङ स्टाफसहित चिकित्सक समेत ज्यान जोगाउन एक तलाबाट हामफल्नुपर्ने गरी भएको घटनालाई छानविन समितिले आवेगमा भएको घटनाको संज्ञा दिँदै अस्पतालमा सुधार गर्नुपर्ने सुझावहरु समेत दिएको गेलालले जानकारी दिनुभयो ।
प्रतिबेदनले अस्पतालको सेवामा केही कमी भएको संकेत गर्दै त्यसकै कारण घटना घटाउनेहरु आवेगमा आएको प्रतिबेदनको आशय रहेको बताइएको छ । समितिले बुझाएको प्रतिबेदनमा विभिन्न २० बुँदे कमी कमजोरी औंल्याउँदै २५ बुँदे सुझाव समेत दिइएको छ । समितिले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारवाहीको सिफारिस गरेको छ ।
प्रजिअ गेलालले अस्पतालमा उपचारको लागि आउने विरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाको लागि विशेष ध्यान पुर्याउने लगायतका सुझाव आउनुको साथै अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन समितिले दिएको सुझावलाई कार्यान्वयन गर्दै घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर कानुनी कारवाहीको प्रक्रियामा अघि बढाइएको बताउनुभयो ।
गत १३ गते राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि हातपात गरेका थिए । घटनामा संलग्न रहेका मृतकका भाईहरु मानबहादुर रावत, भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने उद्योग तथा शारीरिक उपद्रो कसुरमा मुद्दा दर्ता भएको छ ।
घटना लगत्तै सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले काम बन्द गर्ने अवस्था आएपछि तत्कालै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।
Comments are closed.