web analytics

चुरे क्षेत्रबाट एक डाेकाे माटाे समेत नउठाउने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाण्डाै/ अर्थमन्त्री विष्णुप्रसाद पौडलले चुरे क्षेत्रबाट एक डाेकाे माटो वा एक डोको गिट्टी वा बालुवा पनि नउठाउने बताउनुभएकाे छ । नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको बजेट कार्यान्वयनका चुनौती र तिनका समाधानका विषयमा गरेको भर्चुअल छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकार चुरेको संरक्षणमा प्रतिबद्ध रहेको बताउँदै चुरे क्षेत्रमा कुनै पनि प्रकारका उत्खनन नहुने बताउनुभयो । त्यस क्षेत्रको एक डोको माटो पनि नझिकिने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, चुरे संरक्षण नेपाल र नेपालीको सुन्दर भविष्यका निम्ति चुरेको संरक्षण सर्वाधिक महत्त्वपूर्ण विषय हो । चुरे क्षेत्रमा हामीले कुनै पनि प्रकारले उत्खननका काम नगर्ने, माटो, ढुङ्गा, गिट्टी, बालुवा, कुनै पनि चिज उत्खनन नगर्ने, चुरे क्षेत्रको सम्पूर्ण रूपमा संरक्षण गर्ने दृष्टिकोण अघि सारिएको छ । चुरे, शिवालिक, भावर क्षेत्रबाट, नदी क्षेत्रबाट हामी एक डोको माटो वा एक डोको गिट्टी वा बालुवा पनि हामी उठाउँदैनौँ ।
छलफलमा मन्त्री पाैडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयन गर्न सरकारले ठोस पहलकदमी लिने बताउनुभएको छ । उहाँले आउँदाे आर्थिक वर्षका निम्ति ल्याइएको बजेट कार्यान्वयन हुने बताउनुभयो । चुनावी सरकारले ल्याएको बजेट कार्यान्वयन हुन कठिन हुन सक्ने आशङ्का गरिएकोप्रति लक्षित गर्दै उहाँले बजेट कार्यान्वयन र चुनावकाे विषय सँगसँगै अगाडि बढ्ने बताउनुभयो ।
मन्त्री पाैडेलले भन्नुभयो, बजेटको कार्यान्वयन र चुनावकाे विषय सँगसँगै अगाडि बढ्छ । एउटा छोड्नुपर्ने र एउटा समाउनुपर्ने विषय होइन । यी दुवै एकैसाथ बढाउनुपर्ने विषय हुन् । सरकारलाई निरन्तरतामा बुझ्नुपर्छ । सरकारको बजेटलाई पनि निरन्तरतामा बुझ्नुपर्दछ । वर्तमान सरकार बजेट कार्यान्वयनका निम्ति सङ्कल्पबद्ध छ र यो बजेट कार्यान्वयन हुन्छ भन्ने मान्यतामा विश्वास गर्दछ । र त्यस हिसाबले पहलकदमी लिने कुरामा विश्वास गर्दछ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आउँदाे आर्थिक वर्षका लागि तय गरिएका विभिन्न कार्यक्रमले मौद्रिक नीति र मौद्रिक व्यवस्थापनलाई असर पार्ने बताउँदै त्यसले चुनौती सिर्जना गर्ने बताउनुभयो । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका निम्ति विभिन्न स्टेक होल्डरसँग छलफल प्रारम्भ गरिसकेको बताउँदै राष्ट्र बैंकले पनि वित्तीय क्षेत्रले गर्ने काम प्रभावकारी बनाएर लाने सन्दर्भमा टास्क फोर्स गठन गरेर काम सुरु गरिसकेको बताउनुभयो ।
पूर्व अर्थ सचिव शान्तराज सुवेदीले आउँदाे आर्थिक वर्षमा स्रोत व्यवस्थापनमा चुनौती रहेको बताउनुभयो । वैदेशिक सहायता परिचालनमा पनि गाह्रो हुने उहाँको भनाइ छ । आयोजना कार्यान्वयनको समस्या तथा सुशासनको पनि चुनौती हुन सक्ने उहाँले औल्याउनुभयो । यस्ता समस्यालाई बेलैमा सम्बोधन गर्न नसके बजेट कार्यान्वयन हुन गाह्रो हुने पूर्व अर्थ सचिव सुवेदीले बताउनुभयो ।
नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले बजेट कार्यान्वयनको अवस्थाको मासिक रूपमा समीक्षा गर्न र आवश्यकताअनुसार पृष्ठपोषण प्रदान गर्न सरकार र निजी क्षेत्र सम्मिलित समिति बनाउनुपर्ने बताउनुभयो । ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्र आकर्षित हुने गरी बजेट वक्तव्य आएको भन्दै उहाँले पालिका र निजी क्षेत्रको सहकार्यमा पनि पूर्वाधारको काम गर्न सकिने अवस्था भएकाले कानुन निर्माण गरी सहकार्यको बाटो तय गरिनुपर्ने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले वास्तविक रूपमा बजेट कार्यान्वयन भए/नभएको नियमन हुनुपर्ने बताउनुभयो । राजस्व सङ्कलन चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । कोभिड १९ विरुद्धको खोप नलगाएसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै अध्यक्ष मल्लले अर्थतन्त्र चलायमान गराउनका निम्ति सबैलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कर्मसियल बैंकको तरलता मेन्टेन गर्न सकेमा बजेटको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने धारणा राख्नुभयो । अध्यक्ष गोल्छाले अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति कोभिड १९ विरुद्धको खोपको अभियान सञ्चालन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.