web analytics

अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न ओलीलाई आग्रह

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह निकट युवा संघ बागमती प्रदेश कमिटीले पार्टीका एक ब्यक्ति एक पद कार्यन्वयन हुनु पर्ने माग गरेको छ । मंगलबार एक बिज्ञप्ति जारी गर्दे युवा संघ बागमती प्रदेश कमिटीले  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पद छाड्न आग्रह गरेको हो ।
बिज्ञप्तिमा भनिएको  छ ‘एक व्यक्ति, एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौं,’ ।
बिज्ञप्तिमा अदालतको फैसला अनुसार २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन माग समेत गरिएको छ ।
बिज्ञप्तिको पूण पाठ
प्रेस वक्तव्य
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुई ठूला कम्युनिष्ट पार्टीको एकता पश्चात २०७५ जेष्ठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) बनेको थियो । सर्वाेच्च अदालतले २०७७ फाल्गुण २३ गते गरेको फैसला अनुसार नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) बिघटन भई साविकको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को अवस्था फर्कियो । यस फैसलालाई नेपाल कम्युष्टि पार्टी (ने.क.पा) का एक अध्यक्ष एंव साविक नेकपा (एमाले) का अध्यक्ष क. केपी ओलीले पूर्णरुपमा कार्यान्वयन नगरी पार्टीमा विभाजनको परिस्थिति निर्माण गरी रहनु भएको कुरा सबैलाई जानकारी नै छ । यस बिच उहाँले नेकपा (एमाले) को  आधिकारीक निर्णय बेगर यसलाई दशौँ औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्नु भयो । तर फेरी सर्वाेच्च अदालतको २०७८ जेष्ठ २७ गतेको फैसलाले दशौँ औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी र  यसले गरेका निर्णयलाई आधिकारिकता नदिई  ९ औँ महाधिवेशनबाट निर्वाचित अर्थात् २०७५ जेष्ठ २ गतेको कमिटीलाई मात्र मान्यता दिने निर्णय ग¥यो । माउ पार्टीबारे गरिएको यो फैसलासँगै यसका जनसंगठनहरु पनि सोही अवस्थामा पुगेका छन् । त्यस मध्ये हाम्रो गौरवशाली संगठन युवा संघ नेपाल पनि सोही अवस्थामा पुगेको स्पष्ट भएको छ । यसबीचमा आन्तरीक विवादका कारण प्रदेश सरकारमा धक्का लागेको पनि स्पष्ट नै छ ।
नेपालको युवा आन्दोलनमा, युवा संघ नेपाललाई व्यवस्थित, विस्तार र अग्रगामी कमदका लागि विभिन्न व्यक्तिले दिएको योगदानलाई स्मरण राख्नु पर्दछ । त्यो योगदानको कारणले नै युवा संघ नेपालको जग खडा भएको हो र यसले लिएको गतिलाई नजरअन्दाज गर्नु स्वभाविक र बाञ्छनीय हुने छैन । यस बीच युवा संघ नेपाल त्यागेर अन्य क्रियाकलापमा लाग्नु भएका साथीहरुलाई अनुरोध गर्दछौ । पार्टी एकता र युवा संघ नेपालको एकताका निम्ति आउनुहोस् फुटेर होइन जुटेर अगाडि बढौं भन्ने दृढ संकल्पका साथ उभिन आवश्यक रहेकाले निम्न बुँदा कार्यान्वयनका लागि अपिल गर्दछौं ।
क) नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी अर्थात् २०७५ जेष्ठ २ गतेको पार्टी कमिटीलाई क्रियाशिल बनाउनको लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौं ।
ख) जनताको प्रतिनिधिमूलक संस्था संघिय प्रतिनिधि सभा विघटन गर्नु गलत थियो, भनी त्यसमा आत्माआलोचना गरी अगाडि बढ्नका लागि अध्यक्ष कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौं ।
ग) एक ढिक्का नेकपा (एमाले) ले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनमा बृहत्तर योगदान दिने स्पष्ट छ । यसर्थ अब पनि विधि र विधान विपरित हिँड्नु सर्वनाशको बाटोभन्दा केही नहुने भएकाले त्यसबाट जोगिनका लागि नेताहरूलाई एक ठाउँमा राखी विधि र पद्दती अनुसार २०७५ जेष्ठ २ गतेको कमिटी व्युँताउँदै बैठक राखी छलफल र बहस चलाउन जोडदार माग गर्दछौं ।
घ) एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड के.पी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पद बाट राजिनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागी जोडदार माग गर्दछौं।
ङ) विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ बिरुद्धको खोप नेपाली जनताले यथासिघ्र लगाउन पाउने व्यवस्था गरी सम्पुर्ण आम नेपाली जनताको जिवन रक्षा गर्नको लागी जोडदार माग गर्दछौं ।
नेपाली कम्युनिस्ट आन्दोलनमा नेकपा (एमाले) को अभूतपूर्व योगदानलाई ऐतिहासिक र नेपाली जनताको प्रिय पार्टी कायम राख्नका लागि उपयुक्त विषयमा पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटव्युरो कमिटी, केन्द्रीय कमिटीलाई विशेष अनुरोध गर्दै, जनसंगठनहरु, युवा संघ नेपाल लगायतले आ–आफ्ना ठाउँबाट दबाब दिनका लागि हार्दिक अपिल गर्दछौं ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.