उपकुलपतिको मृत्यु भन्दै भ्रम फैलाउनेविरुद्ध मुद्दा !

साउन २४
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा
नन्द बहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ
उपकुलपति प्रा डा सिंहविरुद्ध शनिबार सुर्खेतमा एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरीसा ‘उपकुलपतिको मृत्यु सम्बन्धमा’ भनेर निकालिएको विज्ञप्तिमाथि यति बेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इस्टाग्राममा निन्दा, घृणा र भत्र्सनाको टिप्पणी भइरहेको छ ।
विश्वविद्यालयकै लेटरप्याड प्रयोग गरी निकालिएको विज्ञप्तिमा भनिएको छ, “विश्वविद्यालयमा कार्यरत उपकुलपति प्रा डा सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लग्ने क्रममा मृत्यु भएको छ ।
हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ । उपकुलपतिको दाहसंस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिने छ ।” यस कार्यले सिङ्गो विश्वविद्यालयको मानमर्दन मात्र नभई आफ्नो चरित्र हनन गर्ने काम भएको उपकुलपति प्राडा सिंहले राससलाई बताउनुभयो ।
“यस घटनामा को–को संलग्न छन् भन्ने बारेमा अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन सुर्खेत र साइबर अपराध अनुसन्धान केन्द्रीय ब्यूरो काठमाडौँलाई जानकारी गराइसकेका छौँ”, उहाँले भन्नुभयो, “विश्वविद्यालय र मेरोपछि कुन समूह कसरी लागेको रहेछ भन्ने पर्दाफास अब बिस्तारै हुँदै जान्छ । म गलत छैन र यसमा आतिएको पनि छैन ।”
जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यसबारे जानकारी लिइसकिएको बताउनुभयो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न विद्यार्थी सङ्गठनले १८ बुँदै माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । त्यसमा प्रध्यापकहरुले पनि आन्दोलनको समर्थन जनाएका छन् । आन्दोलनरत विद्यार्थीसँग विश्वविद्यालयले वार्ता गर्दै आएपनि सफल हुन सकेको छैन ।
Comments are closed.