web analytics

कञ्चनपुरका विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन गर्न पाईने

लकडाउनको कार्यविधी भित्र रही जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने 

कञ्चनपुर,१८ भदौ ।

कञ्चनपुरका विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन गर्न पाईने भएको छ । तर यसको लागी २०७८ साउनमा जारी भएको स्मार्ट लकडाउन सम्बन्धि कार्यविधिको प्रावधान भित्र रही जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालन गर्नुपर्ने भएको छ ।

विगत चार महिनादेखि बन्द रहेका कञ्चनपुरका शैक्षिक संस्थाहरू सञ्चालनका लागि चौतर्फी दबाब सिर्जना भएपछि कोभिड १९ सङ्कट व्यवस्थापन समिति कञ्चनपुरको शुक्रबार बसेको बैठकले भौतिक उपस्थितिमा पठनपाठन गर्न चाहने शैक्षिक संस्थाहरूलाई अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक गतिविधि गर्न दिने निर्णय गरेको हो । बैठकपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेद्वारा जारी गरिएको आदेशमा पहिलो प्राथमिकता सकेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गर्न गराउन आग्रह गरिएको छ ।

यदि भौतिक उपस्थितिमै शैक्षिक संस्था सञ्चालन गर्नुपर्ने अवस्था आएमा नेपाल सरकारले गत साउनमा जारी गरेको स्मार्ट लकडाउनको कार्यविधिको प्रावधान भित्र रही जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्ने गरी शैक्षिक गतिविधि सञ्चालन गर्न पाइने बताइएको छ । भौतिक उपस्थितिमा शैक्षिक गतिविधि सञ्चालन गर्दा त्यसको अनुगमन स्थानीय तहले गर्नुपर्ने र स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए स्थानीय तह आफै वा स्थानीय प्रशासनको सहयोग लिई त्यस्ता शैक्षिक संस्था तत्काल बन्द गराउने गरी सञ्चालनको निर्णय गर्न सक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा जारी आदेशमा उल्लेख छ ।

विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिअन्ट सहितको कोभिड १९ को सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान तथा उपचारका लागि कञ्चनपुर जिल्लामा बैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा क्रमिक रूपमा खुकुलो पारिएको थियो । यद्यपि सङ्क्रमणको जोखिम अझै कायम रहेकोले अनावश्यक रूपमा मानिसहरू जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, सामूहिक रूपमा पूजा अर्चना गर्ने, जात्रा, महोत्सव, भोजभतेर आदि जस्ता गतिविधिहरूलाई निरुत्साहित गरिएको छ । आर्थिक, सामाजिक र व्यावसायिक गतिविधि गर्दा होस् वा सार्वजनिक स्थानमा आवतजावत गर्दा अनिवार्य रूपमा स्वास्थ्यका मापदण्ड अपनाउनु पर्ने छ । अन्यथा जरिवाना गरिने आदेशमा उल्लेख गरिएको छ ।

कोभिड १९ सम्बन्धी आदेशको प्रभावकारी पालना भए नभएको बारे सम्बन्धित स्थानीय तह र सुरक्षा निकायबाट नियमित र आकस्मिक अनुगमन गरिने छ । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशको अवज्ञा भएको पाइएमा कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुने बताइएको छ । कोभिड १९ को सङ्क्रमण दर बढ्न गएमा जुनसुकै समयमा पनि उक्त आदेशको पुनरावलोकन गरी अर्को आदेश जारी गर्न सकिने बताईएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.