पेट्रोलियम पदार्थको मूल्य वृद्धि,पेट्रोल प्रतिलिटर एकसय पचास पुग्यो
काठमाडौ/सरकारले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।
निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १ सय ३३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६ सय ६५ दशमलभ ३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय गरेको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ । यो मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने सहप्रवक्ता पुष्कर कार्कीले बताए ।
फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगम सञ्चालक समितिले आर्थिक संकट गहिरिएको भन्दै कर्मचारीलाई दिँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने निर्णय समेत गरेको छ ।



Comments are closed.