श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, अब मासिक १९ हजार ५ सय ५० रुपैयाँ
काठमाडौँ/२ साउन ।
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ पारिश्रमिक दर सार्वजनिक गरेको हो।
अब चिया बगानबाहेकका नेपाली श्रमिकको मासिक न्यूनतम तलब १९ हजार ५ सय ५० रुपैयाँ पुगेको छ। यसअघि यो १७ हजार ३ सय रुपैयाँ थियो। नयाँ पारिश्रमिकमा आधारभूत तलब १२ हजार १ सय ७० रुपैयाँ र महँगी भत्ता ७ हजार ३ सय ८० रुपैयाँ निर्धारण गरिएको छ।
दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका लागि पनि न्यूनतम पारिश्रमिक संशोधन गरी ७५४ रुपैयाँ तोकिएको छ, जसमा आधारभूत ४७० र महँगी भत्ता २८४ रुपैयाँ रहेको छ।
त्यस्तै, प्रतिघण्टाको हिसाबले काम गर्ने श्रमिकको पारिश्रमिक १०१ रुपैयाँ तय गरिएको छ। यो दरमा ६३ रुपैयाँ आधारभूत पारिश्रमिक र ३८ रुपैयाँ महँगी भत्ता समावेश छ। आंशिक समय काम गर्ने श्रमिकको हकमा प्रतिघण्टा १०७ रुपैयाँ न्यूनतम पारिश्रमिक तोकिएको छ।
सरकार, रोजगारदाता र श्रमिक प्रतिनिधिहरूबीच बुधबार साँझ भएको सहमति तथा श्रम ऐन, २०७४ को दफा १०६ (१) को आधारमा यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
चिया बगानमा कार्यरत श्रमिकका लागि भने अलग निर्णय गरिनेछ। सरोकारवाला पक्षसँगको छलफलपछि मात्र उनीहरूको पारिश्रमिक तोकिने मन्त्रालयले स्पष्ट पारेको छ।




Comments are closed.