पुनर्वासमा रानाथारु समुदायको तीजको अवसरमा १ दिन स्थानीय विदा
कञ्चनपुर/साउन ८ ।
पुनर्वास नगरपालिकाले राना थारु समुदायले विशेष महत्वका साथ मनाउने तीज पर्व २०८२ को अवसरमा १ दिन स्थानीय विदा दिने निर्णय गरेको छ। तीज पर्व साउन ११ गते परेको हुँदा, सोही दिन नगरपालिकाका सम्पूर्ण कार्यालयहरूमा विदा हुने नगरपालिका कार्यालयले जानकारी दिएको छ।
नगरपालिकाले एक सूचना प्रकाशित गर्दै तीज पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी, दाजुभाइ र नगरवासीहरूमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुको शुभकामना व्यक्त गरेको छ। सूचनामा तीज पर्वले सामाजिक एकता, धार्मिक सहिष्णुता तथा सांस्कृतिक विविधतालाई झल्काउने उल्लेख गरिएको छ।
पुनर्वासका कार्यवाहक नगर प्रमुख भुलिया कुमारी रानाद्वारा हस्ताक्षरीत सूचनामा बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक भएको हाम्रो देशमा यस्ता चाड पर्वहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, भातृत्वलाई कसिलो बनाउने गरेको र पुनर्वास नगरपालिकाले हरेक जाती, वर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वहरूलाई समान रूपमा प्राथमिकता दिदै आएको अवगत गराउन चाहन्छौ भनिएको छ । साथै सूचनामा तीज पर्वमा होहल्ला तथा तडकभडक जस्ता कार्य नगरी यस पर्वलाई सभ्य र भव्य तथा आर्थिक रूपमा मितव्ययी बनाउन समेत आग्रह गरीएको छ ।
नगरभित्रका सम्पूर्ण चाडपर्वहरूप्रति सम्मान प्रकट गर्दै, तीज पर्वको दिन १ दिनको स्थानीय विदा दिइएको साथै नगरका अन्य कार्यालयहरूमा पनि सो विदा लागू हुने जनाइएको छ।




Comments are closed.