web analytics

उत्तरकाशीको धाराली गाउँमा पहिरो आउँदा ४ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता

उत्तराखण्ड/५ अगस्ट
भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित धाराली गाउँमा मंगलबार दिउँसो भीषण पहिरो जाँदा ठूलो जनधनको क्षति भएको पुष्टि भएको छ। गंगोत्री धाम जाने मार्गमा पर्ने धाराली गाउँमा पहाड खस्दा माटो, ढुंगा र पानीले बस्ती बगाएको छ।
जिल्ला प्रशासनका अनुसार घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। घटनास्थल आसपासका होटेल, होमस्टे र घरहरू मलबामुनि पुरिएको अवस्थामा छन्, जसले क्षतिको मात्रा अझ गम्भीर बनाएको छ।
पहिरोका कारण करिब १५ घर, २०–२५ होटेल तथा होमस्टेहरू पूर्ण रूपमा बगाएको जनाइएको छ। साथै, बजार क्षेत्र तथा सडकहरू मलबाले अवरुद्ध भएका छन्, जसका कारण उद्धारकार्यमा अप्ठ्यारो भइरहेको छ। घटनास्थल नजिकै रहेको मखवा गाउँसमेत जोखिममा परेको छ।
स्थानीय प्रशासन, SDRF, ITBP, भारतीय सेना (Ibex Brigade), र अन्य सुरक्षा निकायहरूको टोली घटनास्थलमा परिचालित छ। हालसम्म करिब १५–२० जनालाई सुरक्षित स्थानमा पुर्याइएको छ भने अन्यको खोजी कार्य जारी छ।
पहिरोको कारण गंगोत्री धामतर्फ जाने मुख्य मार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ। तीर्थयात्रामा गएका सयौं यात्रीहरू विभिन्न स्थानमा अलपत्र परेका छन्। उनीहरूलाई सुरक्षात्मक स्थानमा सार्ने प्रयास भइरहेको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढाउन निर्देशन दिनुभएको छ। मौसम विभागले आगामी दिनहरूमा भारी वर्षा हुन सक्ने सम्भावनाको चेतावनी दिँदै उत्तरकाशी जिल्लामा रेड अलर्ट जारी गरेको छ।
पहिरोले गाउँ बगाएको भिडियोहरू सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएका छन्। तस्बिर र भिडियोहरूमा मानिसहरू भागिरहेको, घरहरू ध्वस्त भइरहेका र नदीमा परिणत भएका सडकहरू देखिन्छन्। स्थानीय बासिन्दा अझै आत्तिएको अवस्थामा छन्।
हाल घटनास्थलमा सञ्चार सम्पर्क पूर्ण रूपमा सुचारु नभएकाले सम्पूर्ण विवरण आउन बाँकी छ। बेपत्ता भएकाहरूको खोजी कार्य निरन्तर जारी रहेको र क्षतिको दायरा अझै बढ्न सक्ने अनुमान गरिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.