web analytics

प्रधानमन्त्री कप क्रिकेट छनोटमा रुपन्देही च्याम्पियन

बुटवल ।  रुपन्देहीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा पुरुषतर्फ रुपन्देही जिल्ला च्याम्पियन बनेको छ ।
बिहीबार सिद्धार्थ रंगशालामा भएको खेलमा बाँकेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही च्याम्पियन भएको हो । बाँके उपविजेता बनेको छ ।

टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ८ विकेट क्षतिमा १८७ रन जोडेको थियो । रुपन्देहीका लागि सन्दीप रजालीले सर्वाधिक ८९ रनको योगदान गरे । यस्तै, प्रकाश केसीले ३५, कृष्ण कार्कीले १९ र विक्रम भुसालले १४ रन बनाए । बलिङतर्फ बाँकेका अजय साहनी र आकाश विष्टले ३/३ तथा दीपेन्द्र राउत, सिद्धान्तराज शाहीले १/१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बाँके २६ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ८० रनमै अलआउट भयो । उसका लागि रमेश सिंहले १९ र सुविन्द्र पाण्डेले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । टिमको जितमा रुपन्देहीका अनिल खरेलले ५ विकेट लिए । यस्तै, नितेश थापाले २, धिरज शाही, कृष्ण कार्की र दुर्गेश गुप्ताले समान १/१ विकेट लिए ।
रुपन्देहीका सन्दीप रजाली म्यान अफ द फाइनल भई ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने रुपन्देहीकै विक्रम भुसाल म्यान अफ द सिरिज भई १० हजार रुपैयाँ प्राप्त गरे । विजेता र उपविजेता टिमलाई नेपाल क्रिकेट संघका पूर्व केन्द्रीय सदस्य आशा गुरुङ लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरेका छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु छनोट गरी माघ ३ गतेबाट काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गरिनेछ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.