web analytics

सरकार र जसपाबीच आज निर्णायक वार्ता हुने

काठमाण्डौ – सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच आज कार्यदलस्तरको बैठक बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्न लागिएको जसपाले बनाएको कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले उज्यालोलाई जानकारी दिनुभयो ।
हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक भएकाले आज थप गृहकार्य गरेर टुङ्गोमा पुग्न कार्यदलको बैठक बस्न लागिएको उहाँको भनाइ छ । जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहने गरेर दुई सदस्यीय कार्यदल बनाएको हो ।
सरकारी पक्षको कार्यदलमा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ हुनुहुन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको वार्तामा जसपाकातर्फबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेताहरु सहभागी हुनुभएको थियो । सरकार पक्षबाट हिजोको छलफलमा नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई सहभागी हुनुभएको थियो ।
जसपाले निलम्बित सांसद रेशम चौधरीलगायत नेता-कार्यकर्ताको रिहा तथा मुद्दा फिर्ता गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग अघि सारेको छ । आफूहरुको मागप्रति सरकार सकारात्मक देखिएको जसपाका नेताहरुले बताएका छन् ।
सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै नयाँ सरकार समीकरण कस्तो हुने भन्ने निर्णायक भूमिका जसपाको हातमा पुगेको छ । तर, जसपाले अहिले नै सत्ता समीकरणबारे निर्णय गरिसकेको छैन । पहिले आफूहरुले पहिलेदेखि नै राख्दै आएको माग सम्बोधन हुनुपर्ने र त्यसपछि मात्रै आफूहरुले सत्ता समीकरणबारे निर्णय गर्ने जसपाका नेता एवं सरकारसँग वार्ता गर्न बनेको कार्यदल सदस्य कर्णले बताउनुभएको छ ।
जसपामा निलम्बनमा परेकाबाहेक अहिले ३२ सांसद रहेका छन् । प्रधानमन्त्री ओलीलाई सरकार टिकाइराख्न एमालेबाहेक १८ सांसद आवश्यक पर्छ । प्रधानमन्त्री ओली सकेसम्म जसपाको सिङ्गो सहयोग लिने र नसके फुटाएर भए पनि पूर्वराजपा धारलाई आफूतिर तान्ने रणनीतिमा हुनुहुन्छ ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । माओवादी केन्द्रले ओली नेतृत्वको विकल्पमा तीन दलको गठबन्धन बनाउने प्रयास गरिरहेको भए पनि सकिरहेको छैन।
तीन दलको गठबन्धन सुनिश्चित भएपछि समर्थन फिर्ताको घोषणा गर्ने र सँगै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी माओवादी केन्द्रको रहेको छ । त्यही रणनीतिलाई असफल बनाउन प्रधानमन्त्री ओली पनि सक्रिय हुनुहुन्छ ।
माओवादी केन्द्रले जसपा र नेपाली कांग्रेसको साथमा सरकार बनाउने प्रयास गरे पनि त्यो सफल हुन भने सकिरहेको छैन । नयाँ सत्ता समीकरणबारे सबै राजनीतिक दलहरु विभिन्न चरणमा छलफलमा रहेका छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.