web analytics

धनगढीमा आदिवासी जनजाति अधिकार कार्यान्वयनसम्बन्धी प्रशिक्षण सम्पन्न

 

कैलाली, भदौ १७ ।
नेपाल आदिवासी जनजाति महासंघ थरुहट खसान (सुदूरपश्चिम) प्रदेश समन्वय परिषद्को आयोजनामा धनगढीमा “UNDRIP र ILO 169 सम्बन्धी NEFIN सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन” विषयक एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ।

धनगढीस्थित बसेरा होटल, नैना देवी मन्दिर रोडमा सोमबार सम्पन्न कार्यक्रममा लाहुर्निप काठमाडौंको सहयोग रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा नेपाल आदिवासी जनजाति महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष दलबहादुर मगर सभापतिको आसनमा रहनु भएको थियो। कार्यक्रममा थारु कल्याणकारीणी सभाका केन्द्रीय सल्लाहकार भानुराम थारु प्रमुख अतिथि र केन्द्रीय पार्षद होरीलाल चौधरी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। अतिथि आसनमा नेपाल तामाङ घेदुङ्ग सुदुरपश्चिम प्रदेशका कार्यवाहक अध्यक्ष भिमलाल मोक्तान तामाङ लगायत अन्य जातीय संगठनका प्रतिनिधिहरु हुनुहुन्थ्यो ।

प्रशिक्षण अधिवक्ता दिनेश कुमार घलेले प्रदान गर्नुभएको थियो। उहाँले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) महासन्धि नं. १६९ को महत्वबारे विस्तृत जानकारी दिँदै यसले आदिवासी जनताको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्नुपर्ने प्रावधानहरूलाई जोड दिएको बताउनुभयो। साथै, आदिवासी जनताको पहिचान, भाषा, परम्परा, संस्कृति र भूमि अधिकारलाई सम्मान गर्ने तथा विगतका असमानता र भेदभाव अन्त्य गर्दै समान अवसरको ग्यारेन्टी गर्ने उद्देश्य रहेको स्पष्ट पार्नुभयो।

त्यस्तै, सन् २००७ मा संयुक्त राष्ट्रसंघद्वारा पारित आदिवासी अधिकारसम्बन्धी घोषणापत्र (UNDRIP) अन्तर्गत स्व-निर्णय र स्वायत्तता, भूमि र प्राकृतिक स्रोतमा स्वामित्व तथा नियन्त्रण, जबर्जस्ती विस्थापनविरुद्ध सुरक्षा, सांस्कृतिक पहिचान, धार्मिक अभ्यास र भाषागत अधिकारसम्बन्धी विषयमा समेत प्रशिक्षणमार्फत प्रकाश पारिएको थियो।

सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेशलाई राज्यका संयन्त्रहरूले व्यवहारमा कार्यान्वयन नगरेसम्म आदिवासी जनजातिहरूको हकहित सुनिश्चित नहुने भन्दै ठोस कदम चाल्नुपर्नेमा अधिवक्ता घलेले जोड दिनुभयो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले प्रशिक्षणमार्फत प्राप्त ज्ञानले आफ्ना समुदायको हकहित र अधिकार सुनिश्चिततामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.