औपचारिक रुपमा फुटदै एमाले, माधव पक्षले बोलायो राष्ट्रिय भेला

काठमाडौ,२९ फागुन
सर्वोच्च अदालतको फैसला अनुसार साविक कायम नेकपा एमाले जुटि नसक्दै विभाजित हुन लागेको छ। शुक्रबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयलाई काउन्टर दिँदै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर कमिटी बनाएको छ।
ओलीले प्रदेश इन्चार्ज र विभागीय प्रमुख तोकेलगत्तै नेपाल पक्षले पनि त्यही निर्णय लिएको हो। माधव पक्षका नेता भीम रावलले समानान्तर कमिटी निर्माणसँगै कार्यकर्ताको राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन्।
माधव पक्षले आगामी चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको जानकारी दिए। भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, संघीय संसद र प्रदेशसभाका सांसद्, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी, सबै पालिकाका निर्वाचित अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी पदाधिकारी, जनवर्गीय संगठनका सदस्यहरु र केन्द्रीय विभागका पदाधिकारीलाई पनि बोलाइएको रावलले बताए।
ओलीले सर्वोच्चको फैसला भन्दा बाहिर गएर एकपक्षीय कदम चालेकाले आफूहरुले त्यसविरुद्ध राष्ट्रिय भेला आयोजना गरिएको उनले बताए।
Comments are closed.