web analytics

सुम्निमा तुलाधर अष्ट्रेलियाको राजदुतमा सिफारिस

काठमाडौ । सरकारले अष्ट्रेलियाको राजदूतमा पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ।
गत साता मात्रै माओवादी केन्द्रको कोटाबाट राजदूत भएका महेशराज दाहाललाई कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो।
परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका श्रीलंका, दक्षिण कोरियासहित कार्यकाल पूरा नभई राजनितीक प्रतिशोधका कारण एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया सहित अन्य मुलुकमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको हो।
राजदूतमा सिफारिस तुलाधर बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालकी निर्देशक हुन्। उनी पद्मरत्न तुलाधरकी छोरी हुन्।

यो कार्यकाल पूरा भइसकेका टोकियोस्थित राजदूत प्रतिभा राणा र मस्कटस्थित शर्मिला पराजुली ढकाललाई अर्को निर्णय नहुन्जेलका लागि कार्यकाल थप गरिएको परराष्ट्र स्रोतले सेतोपाटीलाई जानकारी दियो। राणा कांग्रेस सभापति शेर बहादुर देउवाकी सासु हुन्।
राजदूतले गरेको कामकारबाहीको ‘कार्यसम्पादन मूल्यांकन’ का आधारमा राजदूत नियुक्ति वा पदावधिबारे निर्णय गर्ने भनिए पनि अहिलेसम्म यस्तो प्रबन्ध हुन नसकिएको अष्ट्रेलियास्थित जाकारहरू बताउँछन्।
सरकारको पछिल्लो निर्णयमा पनि राजदूतको कार्यसम्पादन मूल्यांकन हेरिएको छैन, यसअघि पनि थिएन। अष्ट्रेलिायामा पछिल्लो समय नेपाली समाजमा लोकप्रिय रहेका र कुटनीतिक क्षेत्रमासमेत निकै प्रभावकारी भूमिका निर्वाह गरेका दाहाललाई राजनीतिक प्रतिशोधकै कारण फिर्ता बोलाइएको थियो।
शुक्रबार मात्रै पुनर्नियुक्त भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिँदै प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालयमा पठाइएको जानकारी दिएको परराष्ट्र स्रोतले जानकारी दिएको छ। ‘लामो समयदेखि रिक्त रहेका र अरू रिक्त स्थानमा पनि एकमुष्ट रूपमा राजदूत सिफारिस गरेर पठाइएको छ,’ स्रोतले भन्यो।
परराष्ट्रका अनुसार परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिस भएका छन्।
यस्तै तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसमा राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल श्रीलंकाका लागि राजदूत सिफारिस भएका छन् भने त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको छ। यसैगरी रूसका लागि राजदूतमा जंगबहादुर चौहान प्रस्तावित छन् ।
यस्तै, झापाली कम्युनिष्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मार र एमाले पार्टीसम्बद्ध पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिस गरिएका छन्।
यस्तै, ब्राजिलमा कुलप्रसाद नेपाल र डेनमार्कमा सुमित्रा सुवेदीको नाम प्रस्तावित छ । नेकपा एमालेसम्बद्ध मुस्लिम संगठनका अध्यक्षसमेत रहिसकेका मेराज मुसलमान साउदी अरेबियाको राजदूतमा प्रस्तावित भएका छन्।
प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पारित भएपछि बढीमा एक महिनाभित्रमा राजदूत नियुक्ति प्रक्रियामा अघि बढ्नेछ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.