web analytics

कोरोना कहर: टिकाटालो फुकाएको भोज गर्दा एकै घरका चारको मृत्यु  

बागलुङमा टिकाटालो फुकाउँदा भोज गरेको एकै घरका चार सदस्यले कोरोनाका कारण मृत्युवरण गर्नुपरेको छ । बडिगाड-४ जलजलाका एउटा जोडी विवाहित भएकै पाँच-सात वर्ष भएको थियोे । उनीहरूबाट दुई जना छोरी पनि जन्मिसकेका थिए ।
प्रेम विवाहका कारण परिवारले टिका भने लगाइदिएका थिएनन्।
‘कोरोनाले यस्तो अवस्था छ, भोलि के हो, के भनेर ‘टिकाटाला फुकाउन लागे,’ वडाध्यक्ष प्रेम गलामीले भने, ‘टिका त फुकाइयो, तर पूरै गाउँले सम्हाल्नै नसक्ने गरी बिरामी परे।’
प्रेम विवाह गरेका जोडीले केटाकेटी दुबै घरले स्वीकारेको जनाउने दिन टिकाटाला फुकाउने चलन छ। यसो गर्दा विवाहमा जस्तै केटा र केटी पक्षले आफन्तलाई निम्तो दिन्छन्। केटा र केटी दुवैलाई टिका लगाएर आशीर्वाद दिन्छन्। विवाहमा जस्तै भोज चल्छ, टिकाटालो फुकाउँदा पनि।
केटा र केटीको घर धेरै टाढा छैन। जम्मा १० मिनेटको बाटो। केटाको घरभन्दा केटीको घर केही माथि रहेको वडाध्यक्ष पुलामी बताउँछन्।

टिकाटाला फुकाउँदा कम्तीमा पनि सय जना उपस्थित भए। सबैले विवाहित जोडीलाई टिका लगाएर आशीर्वाद दिए। विवाहमा जानेहरू भोज नखाई फर्कने कुरा भएन।
जब विवाहमा भाग लिएर फर्के, एक हप्तापछि गाउँले बिरामी पर्न थाले। ‘सबै घरमा बिरामी छन् सर,’ वडाध्यक्ष पुलामीले भने, ‘कसले के गर्ने हो? केही सोच्नै नसक्ने अवस्था छ।’
बिरामी भएकाहरूलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्नेलगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको उनले बताए। बिरामी हुनलाई उनको परिवार पनि अछुतो छैन। ‘मै पनि बिरामी भएर आज अलि ठिक भएको छु,’ पुलामीले भने, ‘श्रीमती, छोरा र छोरी पनि बिरामी छन्।’
कोरोना महामारीका बेला टिकाटालो फुकाउँदा सबैभन्दा ठूलो बज्रपात विवाहित जोडीकै परिवारलाई परेको छ। जोडीले आफ्नै हजुरबुवा, ठुलोबुवा, काइँलो बुबा र फुपू गुमाउनुपरेको छ। उनीहरू आफैं पनि बिरामी परेका छन्।
परिवारमा सबैभन्दा पहिला वैशाख १७ गते दुलाहाका ४० वर्षीय काइला बुवा बिरामी परे। उनलाई धौलागिरि अस्पतालमा लगेर उपचार गरियो। स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भयो। परिवारका अन्य सदस्यलाई पनि कोरोना परीक्षण गरियो। उनीहरूलाई पनि कोरोना पुष्टि भयो।
त्यसपछि गाउँलेहरूमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो। गाउँपालिकाको स्वास्थ्य शाखाले जिल्ला स्वास्थ्य कार्यालय र अस्पतालसँग मिलेर जलजलामा स्वाब संकलन शिविर लग्यो। वैशाख २५ गते गाउँमा ३० जनाको नमूना स्वाब लिएर परीक्षण गर्न पठाउँदा २५ जनाको रिपोर्ट पोजेटिभ आयो।
दुलाहाका काइँला बुवा अस्पतालमा उपचाररत् हुँदा नै उनका ८३ वर्षीय हजुरबुवालाई च्यापिसकेको थियो। उनलाई पनि धौलागिरि अस्पतालमा उपचारका लागि लगियो। उनको पनि कोरोना रिपोर्ट पोजेटिभ आयो। कोरोनाले गलेका वृद्धले वैशाख २३ गते प्राण त्यागे।
कोरोनाले च्यापेका काइँला बुवा धौलागिरि अस्पताल बाग्लुङमा उपचाररत नै थिए। उनका ५१ वर्षीय जेठो बुवालाई पनि श्वास फेर्न गाह्रो भयो। उनलाई पोखरा ल्याएर उपचार गराउन थालियो। तर, उनीहरू दुबैको मृत्यु भयो। काइँला बुवाले शुक्रबार धौलागिरी अस्पतालमा श्वास छाडे। त्यसको १ घण्टामै जेठो बुवाले पोखरामा।
हजुरबुवाको काजक्रिया नै नसकेका परिवारले यी दुई सदस्य गुमाएको खबर पाएकै थिएनन्। कोरोना संक्रमित हुनुको पीडा एकातिर, परिवारकै सदस्यहरू एकपछि अर्को गुमाउनुको पीडा अर्कोतिर। परिवारलाई परेको बज्रपातमाथि थप बज्रपात हुन नदिन गाउँलेले परिवारलाई खबर दिएनन्।
परिवारकै सदस्य गुमाएको खबर सधैंभरि लुकाउन सम्भव थिएन। यतिकैमा शनिबार सोही परिवारमा फेरि अर्को बज्रपात पर्‍यो। कोरोना भाइरसकै कारण दुलाहाका ५३ वर्षीया फूपुले धौलागिरि अस्पतालमा ज्यान गुमाइन्। कोरोनासँगै निमोनिया भएका कारण उनको ज्यान गएको अस्पतालले जनाएको छ।
कोरोनाका कारण मृत्यु भएका हजुरबुवाको काजकिरिया नसकिँदै एकपछि अर्को गरी चार जना परिवारका सदस्य गुमेका छन्। उनीहरूको काजकिरिया गर्न संक्रमित परिवारलाई सजिलो छैन। ‘सामान्य संस्कार मात्र पूरा गर्न भनेको छु,’ वडाध्यक्ष गलामीले भने।
उक्त परिवारबाहिरका अन्य दुई जनाले पनि ज्यान गुमाएका छन्। उनीहरूमा कोरोना हो कि होइन, रिपोर्ट आउन भने बाँकी रहेको वडाध्यक्ष गलामीले बताए। ‘गाउँमा सब ठिकठाक थियो, अहिले पक्क-पक्क ढल्दैछन्,’ वडाध्यक्ष गलामीले सेतोपाटीलाई भने, ‘सबै घरमा तीन-चार जनाका दरले बिरामी छन्।’
जलजलामा यति छिटो फैलने गरी कोरोना कहाँबाट आयो, कसैसँग जवाफ छैन। दुलाहाका काइँला दाजु, जो कोरोनाकै कारण मृत्युवरण गरे, उनी बाग्लुङ–बुटवल गाडी चलाउँथे। उनको आफ्नै गाडी थियो। बुटवल गएर आउँदा उनैले कोरोना ल्याए कि भन्ने कतिपयलाई शंका छ। तर, यसको पुष्टि भएको छैन।
कोरोना रोकथाम र उपचारका लागि गाउँपालिकाले प्रशासनसँग मिलेर गाउँ नै बन्द गरेको छ। एउटा टोलबाट अर्को टोलमा जान मात्रै होइन, एउटा घरबाट अर्को घरमा जान समेत रोक लगाएको वअध्यक्ष गलामीले बताए।
कोरोना भाइरसको परीक्षण गर्नुअघि ज्वरो लगायत बिरामी पर्दा धेरैले मौसमी रोग ठानेका थिए। लामो समय खडेरी परेर पानी परेपछि उनीहरूमा ज्वरो, रुघाखोकी, जीउ दुख्ने समस्या सामान्य ठानेका थिए। श्वास फेर्न नसक्ने गरी समस्या आएपछि भने अहिले गाउँले त्रासमा बाँचेको गलामीले बताए।
गाउँ नै पूरै कोरोना संक्रमणले छोपेपछि बडिगाड गाउँपालिकाको स्वास्थ्यकर्मीको टिम उक्त गाउँमा खटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले बताए। ‘सामान्य लक्षण भएकाहरू घरमै बस्नुभएको छ, उहाँहरूको निगरानी गाउँपालिकाको स्वास्थ्यकर्मीले गर्नुहुन्छ,’ गुरौंले भने, ‘सिरियस केसलाई धौलागिरी अस्पतालमा रिफर गर्न भनेका छौं, कतिपय रिफर पनि हुनुभएको छ।’

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.