web analytics

किन अरुसित सल्किन्छन् विवाहित महिला/पुरुष ?

एक्ट्रा म्यारिटल अफेयर अर्थात विवाहेत्तर सम्बन्ध । दम्पतीबीच भाँजो हाल्ने यो प्रवृत्ति हामीकहाँ पनि व्यापक हुँदै गएको छ । यो भनेको, विवाहित पुरुष वा महिला परपुरुष/परस्त्रीसँग सम्बन्ध बढाउनु हो । शरीरिक वा मानसिक रुपमा । स्वभाविक हो, आफ्नो जीवनसाथीलाई धोका दिएर अर्कैसँग हिमचिम बढाएपछि दाम्पत्य जीवन धरापमा पर्छ । यो नहुनुपर्ने कुरा हो । तर, हुन्छ । किन ?आखिर किन कोही महिला वा पुरुष तेस्रो व्यक्तिसँग सम्वन्ध गाँस्न पुग्छन् र आफ्नो वैवाहिक सम्वन्धलाई धरापमा पुर्‍याउँछन्, यसका कारणहरु खोतलौं-
रमाइलो र रोमाञ्चका लागि
युवा जोडीहरु चाँडै नै कुनै चिजबाट बोर हुन्छन् । दाम्पत्य सम्वन्धका हकमा पनि यही लागू हुन्छ । आफ्नो पार्टनरसँग बोर भएकाहरु जिन्दगीमा नयाँ रोमाञ्च सिर्जना गर्न तेस्रो व्यक्तिसँग सम्वन्ध गाँस्न पुग्छन् । तर यो भुल्छन् कि यसबाट उनीहरुको जीवनमा ठूलो आँधिबेरी आउनेछ ।
यौन आकांक्षाका लागि
धेरै अनुसन्धानले उजागर गरेको तथ्य के हो भने करिब ८० प्रतिशत पुरुषहरु आफ्नो यौनजन्य आकांषाको तृप्तिका लागि श्रीमतीलाई धोका दिएर परस्त्रीगमन गर्छन् । उनीहरु या त आफ्नो श्रीमतीबाट सन्तुष्ट हुन सकिरहेका हुँदैनन् वा नयाँ स्वाद चाख्ने मनसायमा हुन्छन् ।
इगो प्रोब्लम
पुरानो जमानामा श्रीमती सँधै श्रीमानको नियन्त्रणमा रहन्थिन्, त्यसैले श्रीमानको गल्तीमा पनि औंला उठाउन डराउँथिन् । तर ,अहिले फरक अवस्था छ । श्रीमतीमा पनि म के कम ? भन्ने सोच हुन्छ । यदि श्रीमानले बाहिर कुनै स्त्रीसँग हिमचिम गरेको सुईको पाइन् भने त्यसको बदला लिन उनी पनि कुनै पुरुषसँग नजिकिन थाल्छिन् । कतिपय पुरुषहरु आफूप्रति केटीहरु क्रेजी हुन्छन् भन्ने श्रीमतीलाई देखाउनकै निम्ति पनि परस्त्रीगमनमा लाग्ने गरेको पाइन्छ ।
बोरिङ सम्वन्ध
बिबाहको केही वर्षपछि घर-परिवार र बच्चाहरुको जिम्मेवारीका बीच जोडीहरु एक-अर्कासँग समय बिताउन पाउँदैनन् । श्रीमती बच्चा, अफिस र घरको काममा यसरी फस्छिन् कि श्रीमानका लागि समय नै निकाल्न सक्दिनन् । यसबाट सम्वन्धमा खल्लोपना र गहु्रंगोपना सुरु हुन्छ । यस्तो अवस्थामा कयौं पुरुषहरु परस्त्रीगमनतिर आकषिर्त हुन्छन् ।
समाजमा आएको खुलापन
त्यसो त विवाहइतर सम्वन्धलाई नयाँ जमानाको देन हो भनेर भनिहाल्न मिल्दैन । पहिले पनि यस्ता सम्वन्ध हुन्थे, तर यसमा आजजस्तो खुलेआम बहस हुँदैनथ्यो । आजकाल विवाहइतर सम्वन्धले मानिसहरुलाई स्तब्ध तुल्याउँदैन । यसलाई लिएर मानिसहरुको दृष्टिकोण सामान्य बन्दै गएको छ । समाजमा आएको यो परिवर्तनले पनि विवाह इतर सम्वन्धलाई बढावा दिन्छ । साथै, अफिसमा पुरुष र महिला सँगै काम गर्दा एक-अर्काप्रति आकर्षित हुने र प्रेम बस्ने सम्भावना रहन्छ ।
साथीहरुबीच रवाफ जमाउन
कयौं विवाहित पुरुषहरु साथीसंगतिको प्रेरणा र उक्साहटमा घरबाहिर अफेयर गर्न पुग्छन् । यस्तो अफेयरले साथीहरुबीच आफ्नो ठूलो शान हुने भ्रम उनीहरुलाई परेको हुन्छ । अर्कोतर्फ पत्नीप्रति वफादार पुरुषलाई साथीहरुले ‘जोइटिंग्रे’ भनेर गिज्याउने पनि गर्छन् । त्यसबाट पनि उनीहरुलाई अफेयर राख्ने हौसला प्राप्त हुन्छ ।
परिणाम
यसरी कसैको श्रीमती कसैसँग गयो भने वा कसैको श्रीमान् कसैसँग गयो भने हामी ‘अवैध’ सम्बन्ध भनिदिन्छौँ। जुन कुरा हावा झैं फैलिहाल्छ। अवैध सम्बन्ध राख्नेहरुले जतिसुकै गोप्य राखेपनी कुनै न कुनै माध्यमबाट सार्वजनिक भैहाल्छ । गोप्य रहन सक्दैन । ख्यालख्यालमा रमाइलोका लागि बनाईएका अवैध सम्बन्धको परिणाम निकै गम्भीर हुन्छ जुन परिणाम हामीहरुले सोचेका हुन्नौं। यस्ता सम्बन्धहरु सार्वजनिक भएपछि धेरैको घरमात्र बिग्रदैन, आत्महत्या जस्ता घटनाहरु बढ्नु पनि यी नै कारण हुन्। ‘अवैध’ सम्बन्धको कारण उब्जेको आक्रोश समाजमा फैलिन्छ।
अन्ततः के हुन्छ भने, समाजका मान्छेले ती सम्बन्धलाई अवैध स्ट्याम्प लगाएर राखिदिन्छन् जीवनभर। समाजमा उसको प्रतिष्ठा गिर्छ। समाजबाट पाउनु पर्ने साथ सहयोगमा उसको भागिदार हुँदैन वा पाउँदैन। यसरी एउटा अवैध सम्बन्धका कारण एकजनाको मात्र नभै उसको सम्पूर्ण परिवारको जीवन नै ध्वस्त हुन्छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.