नेपालले चाइनिज ताइपेईलाई २-० गोलअन्तरले हरायो

काठमाडौं, २१ जेठ । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरणको पहिलो खेलमा नेपालले जीत निकालेको छ ।
कुवेतमा गएराति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलअन्तरले हराएको हो । नेपालको जीतमा अन्जन विष्ट र नवयुग श्रेष्ठले १-१ गोल गरेका थिए ।
खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत अन्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालले फ्रिकिक प्रहार गर्ने क्रममा चाइनिज ताइपेईका खेलाडीबाट ह्यान्ड भएपछि नेपालले पेनाल्टी पाएको थियो ।
चाइनिज ताइपेईले पनि केही अवसरहरु सिर्जना गरेको भएपनि त्यसलाई गोलमा परिणत गर्न भने सकेन । यसैबीचमा दोस्रो हाफको ८१औं मिनेटमा सब्स्टिट्युट खेलाडी नवयुगले गोल गर्दै नेपालको २-० को जीत सुनिश्चित गरे ।
यसअघि भएको पहिलो चरणको खेलमा पनि नेपालले ताइपेईलाई उसैको मैदानमा २-० ले नै हराएको थियो । त्यसअघि भएको मैत्रीपूर्ण खेलमा भने १-१ को बराबरी भएको थियो ।
यस जीतसँगै नेपालको ६ खेलबाट ६ अंक भएको छ र चौथो स्थानमा रहेको छ । विश्वकप छनौटको अघिल्लो चरणमा पुग्ने गणितिय सम्भावना बाँकी रहँदा एसिया कपको प्लेहफमा छनौट हुने सम्भावना भने प्रवल रहेको छ ।
जितविहीन रहेको ताइपेई ६ खेलमा अंकविहीन रहेको छ । यस समूहमा अस्ट्रेलिया ५ खेलमा शतप्रतिशत जीत निकाल्दै १५ अंक जोडेर शीर्षस्थानमा यथावत छ भने कुवेत र जोर्डन १०-१० अंकमा छन् ।
नेपालले जेठ २४ मा जोर्डन र जेठ २८ मा अस्ट्रेलियासँग खेल्ने छ ।
Comments are closed.