नेपाली डिफेन्डर अनन्त तामाङ, सानै उमेरमा परिपक्वता

काठमाडौं। कुनै पनि टिमको रक्षापंक्ति बलियो हुनुमा ‘सेन्ट्रल डिफेन्डर’ को भूमिका उल्लेख्य हुन्छ । हुन त टिममा फुलब्याक र ‘डिफेन्सिभ मिडफिल्डर’ पनि रहन्छन्, जसको जिम्मेवारी विपक्षीलाई गोल गर्नबाट रोक्ने हुन्छ । तर पेनाल्टी क्षेत्रको रक्षा गर्ने मुख्य जिम्मेवारी गोलरक्षक र ‘सेन्ट्रल डिफेन्डर’कै हो ।
नेपाली टिममा पनि दुई भरपर्दा ‘सेन्ट्रल डिफेन्डर’ छन् । रोहित चन्द र अनन्त तामाङ । अनुभवी रोहित टिमको मुख्य रक्षकको भूमिकामा रहँदा, उनलाई सघाउने खेलाडी हुन् अनन्त तामाङ । जर्सी नम्बर ४ लगाएर मैदानमा उत्रने अनन्तले रोहितसँग बलियो साझेदारी बनाएका छन् ।
अनन्तको करियर झापाबाट सुरु भयो । झापा नेपाली फुटबलका लागि उर्वर भूमि हो । यसको पुष्टि अनन्त जस्ता खेलाडीको उदयले गर्छ । उमेरको कुरा गर्ने हो भने अनन्त भर्खर २३ पुगेका छन् । तर खेलमा उनले देखाउने प्रतिबद्धता, साहस र निर्णय देख्दा लाग्छ झापाली रक्षक अनुभवी भनिएका खेलाडी भन्दा कम छैनन् । उनी कति प्रतिभाशाली छन् भन्ने कुरा उनले नेपालका लागि जितेको ‘क्याप संख्या’ ले पनि प्रमाणित गर्छ । उनले नेपालको जर्सीमा ३४ खेल खेलिसकेका छन् । साफ च्याम्पियनसिप लगायतका अन्तराष्ट्रिय प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गरेका छन् ।
अनन्तले ६ वर्ष अघि नेपाली राष्ट्रिय टोलीका लागि ‘डेब्यू’ गरे । उनको नाममा २ अन्तराष्ट्रिय गोल पनि छ । सन् २०१६ को ‘एएफसी सोलिडारिटी कप’मा लाओसविरुद्धको खेलमा उनले करियरकै पहिलो अन्तराष्ट्रिय गोल गरे । त्यस्तै सन् २०१८ को ‘साफ च्याम्पियनसिप’मा भुटानविरुद्धको गोल उनको दोस्रो अन्तराष्ट्रिय गोल हो । अनन्त निकै फुर्तिला रक्षक हुन् । नेपालले जब जब ‘सेट पिस’ पाउँछ, उनी विपक्षीको क्षेत्रमा पुगिहाल्छन् । उनको हेडर गर्ने क्षमताले विपक्षीलाई झसङ्ग बनाइरहेको हुन्छ । रक्षापंक्तिमा होस वा विपक्षीको क्षेत्रमा पुग्दा होस, अनन्तको उपस्थिती नेपाली टिमका लागि महत्वपूर्ण साबित भइरहेको हुन्छ ।
अनन्तले नेपालको लागि डेब्यू गरेदेखि अहिलेसम्म नेपाली रक्षापंक्तिमा अनन्तको साझेदार परिवर्तन भइरहे । जस्तै, सन् २०१५ मा भारतविरुद्धको खेलमा अनन्तका साझेदार थिए, पूर्व कप्तान सागर थापा । त्यसपछिका वर्षमा अनन्तले आदित्य चौधरी, देवेन्द्र तामाङ, अजित भण्डारी, विक्रम लामा, रोहित चन्द लगायतका खेलाडीहरूसँग मिलेर राष्ट्रिय टोलीको रक्षापंक्तिको जिम्मेवारी सम्हाल्दै आएका छन् । सानै उमेरमा राष्ट्रिय टिममा करियर सरु गरेका अनन्त अझैँ निकै वर्ष नेपालको रक्षापंक्तिमा रहनेछन् भन्ने अनुमान गर्न गाह्रो छैन ।
घरेलु फुटबलमा स्थापित अनन्तका लागि विदेशबाट पनि प्रस्ताव नआएको होइन । स्पेनको ‘मार्बेला फुटबल क्लब’बाट प्रस्ताव आउँदा चोटका कारण अनन्तको विदेश यात्रा तय भएन । त्यसपछिका वर्षमा अनन्त घरेलु लिगमै रमाए । सन् २०१८ मा थ्री स्टार क्लबसगं आबद्ध भएका अनन्त अहिले पनि त्यही छन् । थ्री स्टारका लागि उनी महत्वपूर्ण खेलाडी हुन् । अनि राष्ट्रिय टिममा पनि उनले निरन्तर मौका पाइरहेका छन् ।
अनन्तसँग नेपालका युवा टोलीबाट खेलेको अनुभव पनि छ । सन् २०१४’ एएफसी अण्डर-१७’ प्रतियोगितामा उज्बेकिस्तानविरुद्धको खेलमा त अनन्तले नेपालको कप्तानी नै गरे । सोही प्रतियोगितामा उनले उत्तर कोरियाविरुद्ध एक गोल पनि गर्न सफल भए । यद्यपि नेपालले सो खेलमा ४–१ गोल अन्तरको पराजय भोग्दै प्रतियोगिताबाटै बाहिरियो । त्यस्तै उनले सन् २०१५ ‘साफ अण्डर-१९’ प्रतियोगितामा नेपालका तर्फबाट सबै खेल खेले । त्यो पनि प्रतिस्थापन नभई । उनी प्रत्येक खेलमा पूरै ९० मिनेट मैदानमा रहे । सो प्रतियेगिता नेपालले जित्दा अनन्तको प्रदर्शन सम्झनलायकको रह्यो । त्यसपछि सन् २०१६ मा समपन्न ‘एएफसी अन्डर-२३’ मा पनि अनन्तले नेपालको प्रतिनिधित्व गरे । उक्त प्रतियोगिता नेपाल र अनन्त दुवैका लागि बिर्सन योग्य रह्यो । यद्यपि अनन्तको करियर ग्राफ भने उकालो लागिरह्यो ।
सन् २०२१ मा नेपालमै भएको ‘थ्री नेसन्स कप’मा अनन्त र रोहितकै जोडीको उपयोग गरियो । समूह चरणमा नेपालले गोल नखाँदा दुई रक्षकको प्रदर्शन तारिफयोग्य थियो । अन्ततः नेपालले घरेलु भूमिमा उपाधि जित्दा अन्नतका साझेदार रोहित ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । रोहितको ब्यक्तिगत सफलतामा अनन्तको पनि भूमिका थियो भन्दा अन्यथा नहोला ।
थ्री नेसन्समा जमेको अनन्त र रोहितले जारी फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनौट चरणमा पनि नेपाली रक्षापंक्ति सम्हालिरहेका छन् ।आफूभन्दा ३० स्थान माथि रहेको चाइनिज ताइपेइविरुद्ध बिहीवार नेपालले जित निकाल्दा अनन्त जब्बर रक्षकका रुपमा प्रस्तुत भए ।
अनन्तले विश्वकप छनौटका बाँकी खेलमा पनि नेपालको रक्षापंक्ति सम्हाल्नेछन् । यस्तोमा अन्नतले आफूले सकेको प्रदर्शन गर्ने अपेक्षा समर्थक र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको छ ।
Comments are closed.