फुटका कारण ढल्यो एमालेको गण्डकी प्रदेश सरकार

काठमाडौं । नेकपामा आएको फुट र एमालेमा देखिएको घरझगडाले अन्ततः एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलेको छ । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आजै पदमुक्त भएका छन् । अब संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । अब प्रदेश प्रमुख सीता पाैडेलले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नेछिन् ।
विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको दावी प्रस्तुत गर्ने तयारी गरेका छन् । कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद पोखरेललाई मुख्यमन्त्री बनाउन यसअघि नै तयार भैसकेका छन् ।
मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेदकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले कित्ता परिर्वतन गरेर विपक्षी गठबन्धनतिर आएका छन् । यदि उनले साथ दिएमा मुख्यमन्त्री नियुक्तका लागि चाहिने ३१ मत विपक्षी गठबन्धनसँग पुग्छ ।
१६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८ (५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको हो । सो उपधारा ५ मा भनिएको छ, उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।
सोही धारा मुताविक कांग्रेस संसदीय दलका नेता पोखरेलले आफूले बहुमत जुटाउन सक्ने भन्दै ३१ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीको दावी प्रस्तुत गर्न लागेका छन् । उनले पनि ३० दिन भित्र प्रदेशसभाबाट विश्वासकाे मत लिनुपर्ने हुन्छ । यदि धारा १६८(५) अनुसार पोखरेलले विश्वासको मत लिन नसकेमा भने संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भंग हुनेछ र गण्डकी प्रदेश मध्यावधि निर्वाचनमा जानेछ ।
Comments are closed.