web analytics

जोन्सन खोप १८ वर्षमाथिका उमेर समूहले तत्कालै सबै ठाउँमा पाउँछन् ?

साउन ६

काठमाडौं/के अब १८ वर्षमाथिका उमेर समूहका व्यक्तिहरुले कोरोनाविरुद्धको खोप जोन्सन एन्ड जोन्सन लगाउने निर्णय भएको हो? काठमाडौंका खोप केन्द्रहरुमा १८ वर्षमाथिका नागरिकलाई खोप दिने भनिए पछि धेरैलाई देशभर नै यो निर्णय भएको भन्ने लागेको छ।

तर, १८ वर्ष माथिका व्यक्तिलाई खोप लगाउने निर्णय काठमाडौं जिल्लाको मात्र हो। जिल्लामा पनि विशेषगरी महानगरभित्रका खोप केन्द्रमा भएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयले जोन्सनको खोप अहिले काठमाडौं उपत्यकासहित काभ्रे र गण्डकी प्रदेशको मनाङ र मुस्ताङ बाहेकका जिल्लामा मात्र पुर्‍याएको छ। सुदूरपश्चिमस्थित आपूर्ति केन्द्रको रेफ्रिजेरेटर भ्यान बिग्रेपछि त्यहाँ जोन्सन एन्ड जोन्सनको खोप पुग्न सकेको छैन। प्रदेश १ मा पनि जोन्सनको खोप नपुगेकाले अभियान नै सुरु भएको छैन।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले स्वास्थ्य मन्त्रालयको यस अघिको निर्णयमा कुनै हेरफेर नभएको बताए। उनले भने,‘हामीले जोन्सन खोप लगाउन तय गरेको लक्षित समूहमा हेरफेर गरेका छैनौँ तर केही जिल्ला तथा स्थानीय पालिकाले लक्षित समूह नछुट्ने गरी १८ वर्ष माथिका व्यक्तिलाई खोप लगाउने निर्णय गर्नुभएको छ। तर, पछि लक्षित समूहले खोप पाएनौं भनेर आउने अवस्था दिनु भएन। त्यो स्वास्थ्य मन्त्रालयको निर्णय होइन।’

उनले पालिकाहरुले खोप लगाउने लक्षित समूहलाई खोप लगाई खोप बाँकी रहेमा त्यहाँको समन्वय समितिमा निर्णय गराई अन्यलाई खोप लगाउन सक्ने बताए।

स्वास्थ्य मन्त्रालयले एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप लागि ५० देखि ५४ वर्ष उमेर समूह प्राथमिकतामा राखेको छ। त्यसबाहेक पूर्ण तथा अति अशक्त अपांग (क र ख वर्ग), नेपालमा बसोबास गरिरहेका शरणार्थी तथा यस अघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई खोप लगाउने निर्णय गरेको छ।

अमेरिकाले कोभ्याक्स सुविधा मार्फत नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन खोप उपलब्ध गराएको थियो। उक्त खोप एक डोज मात्र लगाए पुग्छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.