महतोलाई सबै सहयोगीले साथ छाडे, जसपामा ठाकुरपनि अध्यक्ष रहेको तर्क !

श्रावण १२
काठमाडौं /जसपामा यादवपछि व्यक्तिगत रुपमा महतोसँगै संख्या थियो । तर उनीसँगै भएका कार्यकारिणी समितिका सबैजनाले उनको साथ छाडेका छन् । नरमाया ढकालदेखि मनिष सुमन सम्मले महतोलाई छाडेका छन् । लक्ष्मण लाल कर्णपनि महन्थ ठाकुरतिर लागेका छन् । ठाकुर समुहमा पूर्व राजपा अध्यक्ष मण्डलका ४ जना सदस्य मध्ये महतो मात्र अब एक्लै छन् ।
सर्वाधिक सदस्य ठाकुरसित रहेका छन् । शरतसिंह भण्डारीसित निर्जला राउत र केशव झा सहित ३ जना, अनिल कुमार झासित सुनिल कुमार रोहित समेत २ जना ,उपेन्द्र यादव पक्षबाट आएका दानबहादुर विश्वकर्मा, थारुबाट रामकुमार लेखी बाहेक ८ जना ठाकुर पक्षमा देखिएका छन् । ठाकुर, उनका सम्धि उमाकान्त झा, वृशेषचन्द्र लाल, सर्वेन्द्र शुक्ल, चन्दा चौधरी, जितेन्द्र सोनार, अकबाल अहमद र लक्ष्मण लाल कर्ण रहेका छन् । कर्ण यस अघि महतोसित रहेका थिए ।
यादव पक्षमा लाग्नेहरुमा महेन्द्र यादव र राजकिसोर यादवका सहयोगीहरु बाहेक महतोतिरका नै अधिकांश छन् ।महतो एकतर्फी रुपमा संसदीय दलको नेता बनेपछि पार्टी भित्र विवाद झन चर्किएको थियो । प्रतिनिधि सभामापनि महतोको कोटामा राजपाबाट सांसद बनेकाहरुले उनको साथ छाडेर यादवतर्फ लागेका छन् । महतोको कमजोर नेतृत्व र महत्वांकाक्षाले पार्टीमा ठूलो क्षति भएको आरोप ठाकुर पक्षमा लाग्न थालेको छ ।
निर्वाचन आयोगले ठाकुर समुहलाई अलग दल दर्ताका लागि मौका दिएपनि उनीहरु जसपामै रहेको दावी गरेका छन् ।निर्वाचन आयोगको फैसलाले ५१ सदस्यीय कार्यकारिणी समितिलाई नै मान्यता दिएकाले ठाकुर र यादव दुवै अध्यक्ष मिलेर बैठक बोलाए मात्र बैध हुनेछ’ ठाकुर समुहका नेता वृशेषचन्द्र लालले भने, दुवै अध्यक्षले बोलाएको बैठकमा बहुमतबाट निर्णयगरि कार्वाहि गर्न सक्ने छ ।
यादवले एक्लै गर्न खोजे त्यो गैरकानुनी हुने उनको तर्क छ । निर्वाचन आयोगको फैसलापछि सबै नेताहरु आ–आफ्नो घर गएकाले अगामी रणनीतिबारे छलफल नभएको उनले बताए । मंगलवार ठाकुर पक्षको बैठक बस्ने र अगामी रणनीति बनाउने उनले बताए । यादव समुहलेपनि कार्यकारिणी समितिको बैठक राख्ने बताइएको छ ।
ओली सरकारमा मन्त्री भएकाहरुलाई पार्टीले सोधेको स्पष्टिकरणको जवाफ दिनुपर्ने र कार्वाही गरिएका ठाकुर, महतो, शुक्ला र कर्णलाई पार्टीमा नल्याइने कार्यकारिणी समितिका सदस्य महेन्द्र यादवले बताए । पार्टीको बालकुमारी स्थित केन्द्रिय कार्यालयमा रहेको ठाकुरको कार्यकक्ष महेन्द्र यादवलाई र राजेन्द्र महतोको कार्यकक्ष मृगेन्द्रसिंह यादवलाई दिएको छ ।
ठाकुर र महतोको नाम लेखिएको बोर्ड हटाइएको छ । निर्वाचन आयोगमा प्रारम्भदेखि अन्त्य सम्म अत्यन्त सकृय रहेकी कार्यकारिणी समिति सदस्य रेणु यादवले आयोगको फैसला अप्रत्यासित नभएको बताउँदै सविधान, ऐन, कानुन र लोकतान्त्रिक पद्धती अनुसार नै बहुमत पक्षलाई मान्यता दिएको बताइन् ।
ठाकुर समुहले अनधिकृत रुपमा जसपालाई बन्दी बनाउन गरेको प्रयास आयोगको फैसलाबाट विफल भएको उनले बताइन् । ठाकुरपनि अध्यक्ष रहेको वहियात तर्क रहेको बताउँदै यादवले भनिन्, जसपामा अब उपेन्द्र यादव मात्र अध्यक्ष रहेका छन् ।
Comments are closed.