केपी ओलीले भने, ‘तमासा देखाएर बार्गेनिङ गर्न नआउनुस्’ !

भदौ ६
काठमाडौ /निर्वाचन आयोगले सनाखतका लागि नेपाल समूहलाई भदौ ९ गते कार्यालयमा बोलाएको छ। नेकपा एमाले विभाजन भएपनि लामो समय नेपालको साथमा उभिएका नेताहरुले फुटको पक्ष लिएनन्। उनीहरु अहिले एमालेको ‘तेस्रो धार’ का रुपमा परिचित छ।
भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण बिष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, रघुजी पन्तलगायत हस्तीहरुको नयाँ समूह बनेको छ। यो समूहमा झण्डै ४० केन्द्रीय सदस्य छन्।
उनीहरुले एमालेभित्र ओलीविरुद्ध संघर्ष गर्ने सन्देश दिइसकेका छन्। तर पार्टी एकता बचाउन लागिरहेका भीम रावललगायतका नेताहरूलाई ओलीले तमासा गरेर बार्गेनिङ नगर्न आग्रह गरेको बताइएको छ।
एमाले विभाजन हुँदा तेस्रो धारको रूपमा देखिएका दोस्रो पुस्ताका नेताहरूले ओलीले कारबाही फिर्ता गर्नुपर्ने र १० बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै अल्टिमेटम दिएपछि त्यसलाई ओलीले बार्गेनिङको संज्ञा दिएका छन्।
अन्तिम समयमा पार्टी विभाजन गर्न नहुने अडानसहित माधव नेपालको साथ छाडेका नेताहरुले बार्गेनिङ गरिरहेको भन्दै ओलीले आफूनिकट नेताहरुसँगको ब्रिफिङमा भनेका थिए। उनीहरुले अनावश्यक कुरामा दबाब दिइरहेको ओलीको तर्क थियो।
‘उहाँहरु तमासा देखाएर बार्गेनिङ गर्दै हुनुहुन्छ। हामीले जुन निर्णय लिएर अगाडि बढेका छौं, रोकिनेवाला छैनौं,’ आफूनिक नेताहरुसँग ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमाले अब फेरि नयाँ रुपमा उदाउने अनि देशभर छाउनेछ। सकेसम्म साथीहरुलाई समेटेर अघि बढौं भन्ने सोचेको हो।’
ओली निकटका नेताहरूले पनि रावल लगायतका नेताहरूले दुबैतिर बार्गेनिङ गर्नकै लागि दबाब समूह बनाएको बताउने गरेका छन्। बार्गेनिङका लागि भनिएको अल्टिमेटमको कुनैपनि अर्थ नभएको उनीहरूको प्रतिक्रिया छ।
तेस्रो धारका नेताहरुको बैठकमा कतिपय नेताहरूले ओली नसुध्रने भन्दै यस्ता प्रयास गरेर समय खर्च नगर्न आग्रह गरेका थि । बैठकमा केहीबेर चर्काचर्की भएको समेत बताइएको छ। अन्तिम सयमसम्म पनि केही सीप नलागे तेस्रो धारका नेताहरु माधव नेपालको नयाँ पार्टी नेकपा एकिकृत समाजवादीमा जाने बताइएको छ ।
Comments are closed.