बाँसगढी नगर का विद्यार्थी स्कुल पुग्न उर्लँदो खरहेसँग पौंठेजोरी खेल्छन् !
असोज १८
कृष्ण बहादुर बुढा
बर्दिया /एक साताअघि बर्दियाको बाँसगढी नगरपालिका थुमनीका इन्द्रबहादुर खाँडका ९ वर्षीय छोरा किरण विद्यालय गएका थिए । दिउँसो धुम्म बादलका साथै पानी पर्न थालेको थियो । पानी पर्न लागेपछि इन्द्रबहादुर छोरालाई लिन जाने तयारी गर्दै थिए ।
त्यतिकैमा उनले विद्यालयका शिक्षकलाई त्यहाँको अवस्थाबारे फोनमा बुझे । विद्यालय क्षेत्रमा पानी नपरेको र केही छिनपछि छुट्टी हुने भनेपछि इन्द्रबहादुर छोरालाई लिन गएनन् ।
तर, अकस्मात साँझ छोरा खोलामा बगेको जानकारी पाएपछि उनी आत्तिए र बाँसगढी र बारबर्दिया सीमानामा रहेको खैरेनी खोलामा पुगे । त्यहाँ पुग्दासम्म माथिल्लो कक्षाका विद्यार्थीले उनको छोरालाई खोलाबाट निकालिसकेका थिए । ‘सरले स्कुलतिर पानी परेको छैन भनेपछि म ढुक्कले आफ्नो काममा लागेँ । तर, खोलामा बाढी आइसकेको रहेछ ।
खबर पाएपछि म त्यहाँ पुगेँ,’ इन्द्रबहादुर भन्छन्, ‘मेरो छोरा र अंकलको छोरी खोलामा बगेका रहेछन् । धन्न केही तल रुखको झ्याङमा अल्झिएछन् र तलमाथि हुन पाएन ।’
अनिताको पेटमा भलको पानी पसिसकेको थियो । ७ वर्षीया अनितालाई परिवारले अस्पताल पु¥याए । सामान्य उपचारपछि घर फर्काइएको इन्द्रबहादुर बताउँछन् । उक्त खोलामा अहिलेमात्रै होइन, बर्सेनी विद्यार्थीहरु जोखिम मोलेर जाने गर्दछन् । श्री अमर शहीद दशरथचन्द्र मावि त्यस क्षेत्रकै एक मात्र मावि हो । बीचमा खहरे खोला छ ।
बाँसगढी नगरपालिका–९ थुमनीका नारायण खाँड बिहान खाना खाइवरी झोला बोकेर विद्यालय त निस्कन्छन् । तर, उनी विद्यालय पुग्ने निश्चित भने हुँदैन । यदि पुगिहाले पनि बेलुका सकुशल घर फर्किने टुंगो हुँदैन । खैरनी खोला खहरे खोला हो । कतिबेला उर्लिन्छ र कतिबेला शान्त हुन्छ कुनै ठेगान हुँदैन । थुमनीगाउँ र विद्यालयबीच बग्छ खैरेनी खोला ।
यही खोलाकै कारण पानी परेको दिन त कति विद्यार्थी विद्यालय नै जाँदैनन् । कहिलेकाँहि त आधा बाटैबाट फर्किने पनि गरेका छन् । माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थी भने जोखिम मोलेर खोला तरेर विद्यालयसम्म पुग्छन् । विद्यार्थी नारायण भन्छन्, ‘स्कुलबाट घर हिँड्दा सबै ठिकठाक जस्तो लाग्छ । तर, खोलामा पुगेपछि बाढी देखिन्छ । घर कसरी पुग्ने हो ठेगान नै हुँदैन ।’
यस्तै, शनिबार एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो । जहाँ उर्लँदो खहरे खोलामा बालबालिका स्कुल ड्रेस र झोलासहित तर्दै थिए । वर्षौंदेखि यस क्षेत्रका बालबालिका यही खोला तरेरै जान्छन् । तर, अहिलेसम्म एक सुरक्षित पुल बन्न सकेको छैन । खोलामा पुल नहुँदा विद्यालय आउजाउ गर्नका लागि आफूहरुले निकै सास्ती खेप्नुपरेको कक्ष्गा १० मा अध्ययनरत विद्यार्थी तोयानाथ शर्मा बताउँछन् ।
नियमित पढ्न नपाउँदा पाठ्यक्रमनै छुट्ने गरेको उनको भनाइ छ । थुमनी गाउँ बाँसगढी नगरपालिकामा पर्छ । थुमनी गाउँ नजिकै माध्यमिक विद्यालय छैन । विद्यालय नभएका कारण यो गाउँका बालबालिकाहरु राष्ट्रिय निकुञ्जको घना जंगलको बाटो हुँदै खहरे खोला तरेर बारबर्दियाको वडा नम्बर ९, खैरेनीगाउँमा रहेको दशरथचन्द माध्यामिक विद्यालयसम्म पुग्छन् ।
थुमनी गाउँबाट यही विद्यालय नै सबैभन्दा नजिक छ । विद्यालय र थुमनी गाउँको दूरी करिब पैद ३० मिनेटको छ । बीचमा बर्खामा भेल बग्ने खोला भएका कारण कहिले त घन्टौं लाग्छ । यही गाउँबाट विद्यालयमा करिब १३४ जना बालबालिका अध्ययनका लागि जान्छन् । यो संख्या धेरै नै हो । विद्यालयका प्रधानाध्यापक छविलाल पोख्रेलका अनुसार कैयौंपटक विद्यार्थीहरुको किताब र झोलासमेत भिज्ने र खोलामा बग्ने गरेको छ । पोख्रेल भन्छन्, ‘कैयौंपटक दुर्घटना पनि भएका छन् ।
खोला तर्ने क्रममा विद्यार्थीका झोला, जुत्ता–चप्पल, कपडा बग्ने गरेका छन् । खोलाका कारण सधैंभरी दुर्घटनाकै त्रास रहन्छ ।’ खोलाकै कारण विद्यालयमा अध्यापन गराउन पनि कठिन भइरहेको उनको भनाइ छ । पुलका लागि पटकपटक प्रस्ताव पेश गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । तर, अहिलेसम्म सुनुवाई हुन सकेको छैन । विद्यालय व्यवस्थापन समितिका सदस्य तिलक थापाका अनुसार दुई स्थानीय तहलाई विद्यालयले पुलका लागि पहल थाल्न अनुरोध गरिरहेको छ ।
‘अहिले त तस्वीर नै सामाजिक सञ्जालमा आएपछि सबैको चासो भयो । तर, हामीले पुलका लागि कैयौं पटक स्थानीय तहदेखि केन्द्रसम्म गुहार मागेका छौं,’ उनी भन्छन्, ‘हरेक वर्ष अब त पुल बन्छ भनिन्छ तर, प्रक्रिया अहिलेसम्म के भइरहेको छ । हामीलाई जानकारी नै छैन ।’ विद्यालयसम्म पुग्न वैकल्पिक बाटो भने छैन । मुख्य राजमार्ग हुँदै जाने हो भने करिब २० किलोमिटर जति पर्छ ।
त्यहाँबाट जान कुनै सम्भावना नै छैन । पुल नबन्दासम्म विद्यार्थीले आफ्नो ज्यान हत्केलामा राखेर खोला तर्नुपर्ने बाध्यता रहिरहने थापाको भनाइ छ । यस्तै, चन्कु थारुका अनुसार झोलुङ्गे पुल निर्माणका लागि सर्भे गरिएको थियो । तर, अहिलेसम्म यसको प्रक्रिया कहाँसम्म पु¥याइएको छ कुनै जानकारी नभएको उनी बताउँछन् ।
स्थानीयले पनि बालबालिकाको सुरक्षाका लागि अन्य विकास निर्माण भन्दा पुललाई प्राथमिकता दिन स्थानीय निकायका प्रतिनिधि, सांसद र त्यस क्षेत्रमा जाने मन्त्रीसम्मलाई आग्रह गर्दै आएका छन् । यता बारबर्दिया नगरपालिका प्रमुख दुर्गाबहादुर थारुले अहिले विद्यार्थीहरुले जोखिम मोलेर खोला तरिरहेको ठाउँमा झोलुङ्ग पुल निर्माणको योजना परेको बताउँछन् । ‘यसवर्ष पुल परेको छ ।
दुई तहको समन्वय भइरहेको छ । अब यो सास्ती सधैं रहँदैन’, उनले भने । यस्तै, बाँसगढी नगरपालिकाका अनुसार पुलका लागि डीपीआर समेत बनेर निर्माणका लागि झोलुङ्गे पुल कार्यालयमा प्रस्ताव नै गएको छ । ‘सर्भे भएर पनि डीपीआरसमेत बनिसकेको छ,’ बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारी भन्छन्, ‘गतवर्ष नै प्रस्ताव हालेका थियौं । त्यसबेला परेन । अहिले पर्ने सम्भावना छ । हामीले कोशिस गरिहेका छौं ।’
Comments are closed.