कर्मचारीहरुमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा स्थगित
कञ्चनपुर, ०६ माघ ।
कर्मचारीहरुमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा स्थगित गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरेको जनाएको छ । कार्यालयको विभिन्न फाँटमा कार्यरत अधिकांश कर्मचारीहरूमा कोभिड १९ को सङ्क्रमण लक्षण देखिएकोले धेरै कर्मचारी होम आइसोलेसनमा रहेको र कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड हुने हुँदा कार्यालयबाटै कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने जोखिम बढेका कारण सेवा स्थगन गर्नु परेको सूचनामा जनाईएको छ ।
माघ ०७ गते शुक्रबारबाट अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट सम्पादन हुने शान्ति सुरक्षा, मुद्दा सम्बन्धी कार्य र अत्यावश्यक सेवा बाहेकका नागरिकता (नयाँ/प्रतिलिपि), राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता/नवीकरण, पेन्सन सिफारिस/प्रमाणित, नाबालक परिचयपत्र लगायतका अन्य सेवाहरू स्थगित गरिएको र अत्यावश्यक सेवा लिन आउनु हुने सेवाग्राहीहरूले अनिवार्य रूपमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी साथमा खोप कार्ड (मोबाइलमा फोटो भए पनि) लिई आउन समेत सूचनामा आग्रह गरिएको छ । हेर्नुस् सूचना ।



Comments are closed.