web analytics

राष्ट्रियसभा सदस्य निर्वाचनः पाँच दलीय गठबन्धनका उम्मेदवार १८ स्थानमा विजयी

काठमाडौं/राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी भएका छन्।
निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी भएका छन्। नेकपा (माओवादी केन्द्र)का उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की पनि निर्वाचित भएका छन्।
नेकपा (एकीकृत समाजवादी) का तर्फबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदय बोहरा र मदनकुमार शाह (गरिमा) निर्वाचित भएका हुन्। जनता (समाजवादी पार्टी नेपाल) का उम्मेदवार महम्मद खालिद र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा पनि आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गरी निर्वाचित हुन सफल भएका छन्। उनीहरु आगामी छ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्।
निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माका अनुसार यस निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेकामा दुई हजार सात मत खसेको थियो। देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो।
आगामी फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन भएको हो। सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ।
राष्ट्रियसभा सदस्यको यस निर्वाचनमा महिला, दलित अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूह गरी १९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा थिए।

निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका गाउँपालिकाका
अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गरेका थिए। प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिकाका प्रमुख उपप्रमुखको मतभार १८ रहेको छ।रासस

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.