भ्रष्टाचार गरेको भन्दै बेलडाँडीका वडाध्यक्षलाई विप्लवका कार्यकर्ताले कालोमोसो दले
कञ्चनपुर/भ्रष्टाचार गरेको भन्दै बेलडाँडीका वडाध्यक्षलाई विप्लवका कार्यकर्ताले कालोमोसो दलेका छ्न।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनका कार्यकर्ताहरुले बिहीबार बेलडाँडी गाउँपालिका–२ का वडा अध्यक्ष प्रेम खातीलाई कालो मोसो लगाएका हुन् ।
प्रहरीले घटनामा संलग्न एकजनाको पहिचान खुलेको र अन्यको पनि खोजी भइरहेको जनाएको छ । युवा संगठन नेपालले विज्ञप्ती जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । वडा अध्यक्षले भ्रष्टाचार गरेकाले ‘जनकारबाही’ गरिएको उसको दाबी छ ।
वडा अध्यक्षले वडा कार्यालय गाउँपालिकामा राखेर अन्तै भाडा दिएको, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, उपभोक्ता समितिद्धारा आफु अनुकुल काम गरेको आरोप लगाइएको छ ।
यसैगरी, वडा अध्यक्षले गाउँपालिका कार्यालयको पछाडी रहेको एकल महिलाहरुका लागि बनाएको भवनमा आर्थिक अनियमिता गरेको, वडा कार्यालयमा नजाने र कालिकिच उपभोक्ता समितिद्धारा निर्माण गरिएको सडकमा समेत आर्थिक अनियमितता गरेको युवा संगठन नेपाल कञ्चनपुरको आरोप छ ।
बिहीबार दिउँसो १ बजे ६\७ जनाको समुहले वडा अध्यक्षलाई कार्यालयमै कालोमसो लगाएको सूचना पाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए । ‘६\७ जनाको समुहले कालो मोसो लगाएको रहेछ,’ उनले भने,‘उनीहरुमध्ये १ जनाको पहिचान भएको छ, अरुको खोजी भइरहेको छ ।’



Comments are closed.