परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन गठबन्धन आवश्यक
काठमाडौँ/ पाँच दलीय सत्ता गठबन्धनले
परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन गठबन्धन आवश्यक रहेको बताएका छ्न । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकपछिको संयुक्त प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । विज्ञप्तिमा अगाडी भनिएको छ ”
नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ। समावेशिता, गणतन्त्र
र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको छ। तर पनि परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु यो परिवर्तनको विरुद्ध अझै पनि षडयन्त्र गरिरहेक छन् भन्ने कुराको उदाहरण देशको संविधानको उल्लंघन गर्दै संसद माथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरुमा पैदा गराईएको बेथितिले स्पष्ट पारेको छ।” विज्ञप्तिमा परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलिय गठबन्धन बनेको कुरा उल्लेख गर्दै
पाँचदलको यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय बासिन्दाहरुको कठिनाई हटाउदै
तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा तालमेल आवश्यक रहेको बताईएको छ ।
आगामी निर्वाचनमा तालमेल गर्ने सहमति गर्दै आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्न सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् ।
गठबन्धनको बैठकपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा हिजोका सबै मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् ।
पाँच दलले स्थानीय तह चुनावमा उत्साहजनक सहभागितासहित सफल पार्न र पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन आग्रह गरेका छन् ।
‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रता पूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध छन् । र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं,’ पाँच दलका नेताद्धारा जारी अपिलमा भनिएको छ, ‘त्यसका लागि देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न पाँचदलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौं ।



Comments are closed.