नेपाली काङ्ग्रेसको चुनावी गीत “जय नेपाल सबैको मुखमा”को म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । यस पटकको चुनावलाई लक्षित गरेर काँग्रेसको चुनावी गीत जय नेपाल सबैको मुखमा…,को म्युजिक भिडियो बजारमा आएको छ । यो गीतको भिडियो बिहिबार काठमाडौंको दरवारमार्ग स्थित क्युज सिनेमामा रिलिज गरिएको छ ।
नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत, अभिनेता नीर शाह, भुवन केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले भिडियो सार्वजनिक गरेका हुन् । यो गीतलाई युवा गायक कृष्ण वि.क.ले गाएका छन् । कृष्णलाई महिला स्वरमा गायिका प्रीति आलेले साथ दिएकी छिन् । गीतमा एक नारायण भण्डारीको शब्द र संगीत छ ।
नेपाली काँग्रेसको प्रवक्ता डा. प्रकाश शरण महतले अहिलेको समसामयिक सन्दर्भमा यो गीत निकै राम्रो बनेको कार्यक्रममा बताए । जनतासँग जोडिने प्रभावकारी माध्यम नै गीत संगीत र सिनेमा भएको बताउँदै प्रवक्ता महतले चुनावमा जनतासँग नेता र पार्टीलाई जोड्ना यस्ता गीतहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले संसार भरी २०० भन्दा बढी देशका करिब ९० प्रतिसत मुलुक लोकतान्त्रिक मुलुक भएको र लोकतन्त्र निकै राम्रो व्यवस्था भएकाले काँग्रेसले लोकतन्त्रलाई विश्वास गर्ने बताए ।
अभिनेता नीर शाहले मुलुकको पहिचान र समुन्नत विकाशको लागि संस्कृति महत्वपूर्ण पक्ष भएकाले विपि कोईरालाको भनाईलाई आफुहरुले शिरोधार्य गर्दै नेपाली काँग्रेसमा कटिबद्ध भएका छौं भने ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यो गीत जनताको मुख मुखमा झुन्डिने बताए । तीन दिन अघिमात्र नेपाली काँग्रेसमा प्रवेश गरेका खड्काले आफु लामो समयसम्म अरु पार्टीमा लाग्दा आफुहरुको मूल्याँकन ती पार्टीमा नभएकै कारण नेपाली काँग्रेसमा प्रवेश गर्नु परेको दाबी गरे ।
यस्तै तीन दिन अघि नेपाली काँग्रेसमा प्रवेश गरेका अर्का अभिनेता भुवन केसीले पनि सम्मान र कलाको हक हितका लागि आफुहरुले नेपाली काँग्रेस पार्टी रोजेको जिकिर गरे,‘नेपाली चलचित्र क्षेत्रमा कलाकारिताका माध्यमबाट ४० वर्ष भन्दा लामो समय योगदान दियौं। त्यो योगदानको मूल्याँकन नेपाली काँग्रेसले गर्ने भएपछि हामी यो पार्टीमा प्रवेश गरेका हौं ।’ अभिनेता केसीले भने । यो गीत निकै राम्रो बनेको पनि उनले कार्यक्रममा बताए ।
बिहिबार सार्वजनिक गरिएको गीत जय नेपाल सबैको मुखमा…,का गायक कृष्ण बिकले अहिलेको अबस्थालाई मध्यनजर राखेर नेपाली कँग्रेस तथा गठबन्धनको बिजयको लागि यो गीत बजारमा ल्याएको बताए ।
यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । जिबि आग्रीको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । संजय लामाको छायाँकन रहेको यो गीतको भिडियोमा नेपाली कँग्रेसमा सम्लग्न विभिन्न कलाकार तथा भातृ सँस्थाका पदाधिकारीहरुको अभिनय छ ।




Comments are closed.