web analytics

खाती दाजुभाइद्वारा स्वर्गीय पिताको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

-लाल बहादुर एसके
पुनर्वास, माघ २२
शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले पुनर्वास नगरपालिका–९, ख-गाउँका भरत खाती र मनीराज खातीले आफ्ना स्वर्गीय पिता रामबहादुर खातीको सम्झनामा श्री जीवनशक्ति माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।
युवा व्यवसायी तथा समाजसेवी भरत खाती पुनर्वास क्षेत्रमा एक प्रतिष्ठित नाम बनिसक्नुभएको छ। सानो व्यवसायबाट यात्रा सुरु गर्दै आज एक अब्बल व्यवसायीका रूपमा स्थापित उहाँले आफ्नो व्यापारिक सफलतालाई समाजसेवामा रूपान्तरण गर्दै आउनुभएको छ।
सामुदायिक विद्यालयहरूलाई आवश्यक सहयोग प्रदान गर्नुका साथै, विभिन्न खेलकुद तथा सामाजिक विकासका क्षेत्रमा उहाँको योगदान उल्लेखनीय छ। धार्मिक आस्थासँगै चौथर्पी क्षेत्रको समग्र विकासका लागि पनि उहाँ निरन्तर लागिरहनुभएको छ। सामाजिक कार्यमा अग्रसर, युवाहरूलाई प्रेरित गर्ने, र समुदायलाई एकताबद्ध गराउने उहाँको प्रयासले पुनर्वासमा उहाँको नाम छुट्टै पहिचान बनाउन सफल भएको छ।

सरस्वती पूजाको पावन अवसर पारेर आयोजित समारोहमा खाती परिवारले एक लाख एघार हजार एक सय एघार रुपैयाँ (रु. १,११,१११) को अक्षयकोष विद्यालयलाई हस्तान्तरण गरे। यस कोषबाट जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई सहयोग गरिनेछ।

शिक्षा क्षेत्रमा परिवारको योगदान
भरत खातीले अक्षयकोष स्थापनाको उद्देश्य विद्यार्थीलाई थप अध्ययनप्रति अभिप्रेरित गर्नु रहेको बताए। उनका दाजु मनीराज खातीले भने, “विद्यालयका लागि पहिलो अक्षयकोषदाता हुन पाउँदा हाम्रो परिवार गौरवान्वित भएको छ। भविष्यमा पनि विद्यालयको विकासका लागि सक्दो सहयोग गर्नेछौं।”

नगर प्रमुख र विद्यालय प्रशासनको आभार
विद्यालयका प्रधानाध्यापक प्रयागराज उपाध्यायले स्वर्गीय रामबहादुर खातीप्रति श्रद्धाञ्जली अर्पण गर्दै खाती परिवारलाई धन्यवाद ज्ञापन गरे। पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले भने, “शिक्षा क्षेत्रमा गरिएको यो योगदान उदाहरणीय छ। यस्ता कार्यले समाजलाई सकारात्मक दिशा दिन्छ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम परियारले अक्षयकोष स्थापनाले विद्यालयलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने बताउँदै शिक्षा क्षेत्रको विकासका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।

खाती परिवारको प्रतिबद्धता
खाती परिवारका सदस्य दलबहादुर, भरत र पुष्पले विद्यालयको शैक्षिक गुणस्तर उन्नत गर्न निरन्तर योगदान दिने प्रतिवद्धता व्यक्त गरे। उनीहरूले भविष्यमा पनि विद्यार्थीहरूको शैक्षिक सुधारका लागि सहयोग जारी राख्ने बताए।

विद्यालय र समुदायका लागि प्रेरणादायी बनेको यस कार्यले अन्य सहयोगी दाताहरूलाई पनि शिक्षाक्षेत्रको विकासमा हातेमालो गर्न अभिप्रेरित गर्ने विश्वास लिइएको छ। तस्वीरहरु

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.